स्वास्थ्य

सहयोगस्वरुप एम्बुलेन्स

सोलुखुम्बु । कोरियाली सरकारको सहयोगमा योङ स्टार सामुदायिक स्वास्थ्य सेवा केन्द्र, सोलुखुम्बुलाई अत्याधुनिक सुविधासहितको एम्बुलेन्स सहयोग प्राप्त भएको छ । करीब रु एक करोड मूल्य बराबरको उक्त एम्बुलेसमा स्वास्थ्यसम्बन्धी अत्याधुनिक सामाग्री जडित रहेको छ ।

योङ स्टार सामुदायिक स्वास्थ्य सेवा केन्द्र र धुलिखेल अस्पतालको संयुक्त प्रयासमा सञ्चालित स्वास्थ्य केन्द्रलाई मध्यनजर गर्दै कोरियाली सरकारले सहयोग गरेको सोलुखुम्बुका प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।

अत्याधुनिक एम्बुलेन्स प्राप्त भए तापनि भौगोलिक विकटता तथा वर्तमान सडकको अवस्थाले सोलुखुम्बुमा सञ्चालन गर्न भने समस्या हुने देखिएको छ । एक महिनाअघि काठमाडौँ आइपुगेको उक्त एम्बुलेन्स अहिले धुलिखेल अस्पताल बनेपाको जिम्मामा राखिएको छ । हाल जिल्लामा एउटा मात्र एम्बुलेन्स सेवा सञ्चालनमा छ ।

भौगोलिक विकटताको कारण पनि यहाँका नागरिकलाई एम्बुलेन्स सेवा नहुँदा थप समस्या भएको हो । सोलुखुम्बुको जिल्ला स्वास्थ्य कार्यालयको नाममा रहेको एम्बुलेन्स सेवा केही वर्षदेखि पूर्ण बन्द छ । यता नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको एम्बुलेन्स पनि एक वर्षदेखि थन्किएको छ ।