आर्थिक

दरवाङ म्याग्दीखोलाबारे खुसीको खबर

काठमाडौं । मालिका गाउँपालिकामा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।

धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनामा सानीमा बैंकको अगुवाइमा कर्जा लगानी सम्झौता भएको हो । आयोजनामा सानिमा, प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी र मुक्तिनाथ बैंकले अधिकतम ७० प्रतिशत लगानी गर्ने भएका छन् ।

तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले वार्षिक १५ करोड युनिट विद्युत् उत्पादन गर्ने जनाइएको छ । आयोजना निर्माण गर्न रु चार अर्ब ५० करोड लगानी आवश्यक पर्ने जनाइएको छ ।

दरवाङ, देवीस्थान, ताकम र बिमको सीमा क्षेत्रमा पर्ने फेदीमा बाँध रहने आयोजनाको पाँच किलोमिटर सुरुङ र रातो ढुङ्गामा विद्युत् गृह निर्माण गर्ने प्रस्ताव गरिएको छ ।

विसं २०७१ फागुनमा जनेरेशन अनुमति पाएको कम्पनीले लगानीको विवादका कारण काम शुरु गर्न सकेको थिएन् । कम्पनीमा नयाँ सञ्चालक भित्रिएर आयोजनालाई अघि बढाउन लागेका हुन् । एनआरएनए कोरियाका पूर्व अध्यक्ष र म्याग्दी प्रवासी नेपाली सङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष विनोद कुँवरको नेतृत्वमा आयोजना निर्माण हुन लागेको हो ।

यस आयोजनाबाट उत्पादित विद्युत् बिमको डाँडाखेत सव स्टेशनबाट केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । वित्तीय व्यवस्थापन भएपछि आयोजना निर्माणले तीव्रता पाउने स्थानीय जनप्रतिनिधि र सर्वसाधारणले अपेक्षा गरेका छन् ।