आर्थिक

बिम्स्टेकका लागि चिटिक्क राजधानी

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यद्वारबाट निस्कनासाथ तीनकुनेतर्फ लाग्दा दुई वटा स्वागतद्वार भेटिन्छन् । पहिलोमा नेपालको कलात्मक एवं पुरातात्विक महत्वका मन्दिरको तस्वीर सहितको कलात्मक आकर्षक द्वार बनाइएको छ ।

जहाँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखको तस्वीर राखिएको छ । दोस्रो द्वारमा बौद्धनाथ स्तूपको कलात्मक गजुर सहितको बिम्स्टेक राष्ट्रका झण्डाले सजाइएको छ । ती द्वारमा लेखिएको छ– बुद्धको जन्मभूमि नेपालमा स्वागत छ अर्थात् ‘वेलकम टु दी कन्ट्री अफ गौतमबुद्ध’ । यस्तै अर्को द्वारमा लेखिएको छ– ‘सगरमाथाको भूमिमा स्वागत छ’ ।

कतै विश्वको सर्वोच्च शिखर सगरमाथाको तस्वीर राखिएको छ भने कतै डाँफे, मुनाल र हिमाली क्षेत्रको आकर्षक तस्वीर राखिएको छ । नेपालको विभिन्न क्षेत्रको कला तथा संस्कृति झल्कने तस्वीरले सजाएर राजधानीलाई चिटिक्क बनाइएको छ । सांस्कृतिक नगरी काठमाडौँमा सजाइएका यी र यस्ता दृश्यले आदिकवि भानुभक्त आचार्यकै शब्दमा जस्तै काठमाडौँ ‘अलकापुरी नगरी’ जस्तै बनेको छ ।

यस्तो रङरोगन र स्वागतद्वार निर्माण गर्ने संयोग जुटाइदिएको हो बहुक्षेत्रीय आर्थिक तथा प्रविधिक सहयोगका लागि बङ्गालको खाडीको सहयोग (बिम्स्टेक) चौथो शिखर सम्मेलनले । सम्मेलन आउने दुई दिन बाँकी रहँदा काठमाडौँका मुख्य सडक रङ्गीचङ्गी ध्वजा तथा आकर्षक होर्डिङ बोर्डले राजधानीको सौन्दर्यता मात्रै बढाइदिएको छैन, थप रौनकता बढाइदिएको छ ।

बिम्स्टेकको औपचारिक उद्घाटनस्थल सोल्टी होटल, पहुनाको स्वागतका लागि आयोजना हुने रात्रिभोज हुने हायात होटलसम्मको सडकलाई तन्दरुस्त बनाइएको छ । विमानस्थलबाट तीनकुने आइपुग्दा नेपालको कला संस्कृति, पुरातात्विक सम्पदा, राष्ट्रिय जनवार, पक्षी आदि झल्कने तस्वीरले सजाइएको छ । पोखराको फेवाताल, डोल्पामो शे–फोक्सुण्डो तालदेखि नेपालका प्रशिद्ध मठ, मन्दिर, पर्यटकीय क्षेत्रको सचित्र झल्काइएको छ ।

नयाँ बानेश्वर हुँदै माइतीघर क्षेत्रमा सडक मर्मत गरिएको छ । जताततै झण्डा फहराइएका छन् । माइतीघर मण्डलाको रङरोगन गरी मण्डलालाई बेहुली झैँ सिँगारिएको छ । झिलिमिली बत्तीको व्यवस्था गरिएको छ । महाराजगञ्जस्थित नारायणगोपाल चोक, राष्ट्रपति कार्यालय नजिक, कान्तिपथ, थापाथली, कालीमाटी, सोल्टीमोड, कलङ्कीलगायत स्थानमा आकर्षक द्वार बनाइएको छ ।

पाहुनाको स्वागतका लागि सडक सरसफाइ, मर्मत आदिको काम सकिएको छ । सडकको खाल्डाखुल्डी पुरी रङरोगन गरिएको छ । बुद्धको जन्मभूमि, सगरमाथाको देश, बिम्स्टेक शान्ति, समृद्धि र विकासका लागि, बिम्स्टेका विशिष्ट पाहुनालाई स्वागतजस्ता नारा द्वारमा लेखिएका छन् । त्यसले सदस्य राष्ट्रबीचको मैत्री सम्बन्ध सुमधुर र जनस्तरको रहेको स्पष्ट गर्दछ ।

अन्ठाउन्न स्वागतद्वार
बिम्स्टेक पाहुनाको स्वागतार्थ काठमाडौँका विभिन्न स्थानमा ५८ वटा स्वागतद्वार बनाइएको छ । नेपालको कला, संस्कृति झल्कने तस्वीर तथा बिम्स्टेक राष्ट्रप्रमुखको तस्वीर राखिएको छ ।

पाँच मिटर अग्ला कलात्मक द्वारमा सदस्य राष्ट्रका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा विशिष्ट पाहुनाको तस्वीर राखिएको छ । शुरुमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार लन्प्यो छिरिङ वाङचु, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाको तस्वीर सजाइएको छ ।

यस्तै ती देशका झण्डासमेत क्रमैसँग राखिएको छ । शहरी विकास मन्त्रालयले तयार पारेको डिजाइनअनुसार काठमाडौँ महानगरपालिकासहित अन्य सरकारी तथा निजी सङ्घसंस्थाको सहयोगमा ती स्वागतद्वार बनाइएको हो ।

पाहुनाको स्वागतका लागि रङरोगन र सरसफाइको जिम्मा लिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले स्वागतका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । फोहर व्यवस्थापन, रङरोगन तथा तस्वीर सजावट लगायतका काम सकिएको र केही बाँकी भए त्योसमेत मङ्गलबार बिहानसम्म पूरा हुने उनको भनाइ छ ।

तीनकुनेमा झाँकी

शिखर सम्मेलनमा आउने विशिष्ट पाहुनाको स्वागतका लागि महानगरपालिकाले तीनकुनेमा नेपालको कलात्मक संस्कृति झल्कने झाँकी प्रस्तुत गर्ने तयारी गरेको छ । त्यसका लागि तीनकुनेको तीनवटै कुनामा मञ्च निर्माण गरिएको छ ।

काठमाडौँ उपत्यकाको परम्परागत नेवारी संस्कृति झल्कने झाँकी प्रस्तुत गरिनेछ । त्यसका अलावा नेपालको विभिन्न जातजातिको पहिचान झल्कने झाँकीसमेत देखाइनेछ प्रवक्ता कार्कीले जानकारी दिए ।

सुरक्षाको पूर्ण तयारी : गृह मन्त्रालय

शिखर सम्मेलनमा आउने पाहुनाको सुरक्षालाई ध्यानमा राखेर गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्था मिलाएको छ । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले ‘अति विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि–२०७०’ अनुसार सुरक्षा योजना तयार पारी लागू गरिएको जानकारी दिए । विमानस्थलदेखि, निवास र भ्रमण गर्ने स्थलको सुरक्षा व्यवस्था गरिएको छ ।

सम्मेलनमा आउने पाहुनालाई आवश्यक सुरक्षासहित आवासस्थल पु¥याउन आजै पूर्वअभ्यास समेत गरियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा पूर्वअभ्यास गरिएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेले सरकारले निर्धारण गरेअनुसार विशिष्ट र अति विशिष्ट पाहुनाको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए ।