स्वास्थ्य

एक लाख ७१ हजारको आँखाको उपचार

चितवन । भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा आठ जिल्लाका एक लाख ७१ हजार ४०० को आँखाको उपचार गरेको छ । अस्पतालले विभिन्न जिल्लामा शिविर सञ्चालन र अस्पताल एवं आँखा उपचार केन्द्रमार्फत बिरामीको उपचार गरेको हो ।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार भरतपुरमा रहेको मुख्य अस्पताल र भरतपुर हाइटमा रहेको बहिरङ्ग विभागमार्फत एक लाख १८ हजार ४५५ जना बिरामीको आँखाको उपचार गरिएको हो । विभिन्न जिल्लामा गरिएका शिविरमार्फत २२ हजार ९८५ को आँखाको उपचार गरिएको छ । अस्पतालले चितवनसहित नवलपरासी, मकवानपुर, पर्सा, बारा, धादिङ, गोर्खा र तनहुँमा आँखा शिविर गरिएको घिमिरेले बताए । ती जिल्लामा अस्पतालले वर्षभरमा ७६ वटा एक दिने शिविर र १६ वटा सर्जिकल शिविर सञ्चालन गरेको थियो ।

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित सो अस्पतालले गत आवमा पाँच हजार ६९६ को आँखाको शल्यक्रिया गरेको छ । अस्पतालका अध्यक्ष कृष्णराज धरेलका अनुसार हरेक वर्ष बिरामीको सङ्ख्या बढ्दै गएको छ । आव २०७३/०७४ मा एक लाख ३४ हजार ९७९ जना आँखाका बिरामीको परीक्षण गरेको थियो । अस्पतालले मुख्य अस्पतालसहित भरतपुर हाइटमा बहिरङ्ग विभाग र नौ वटा आँखा उपचार केन्द्रमार्फत सेवा दिइरहेको छ ।