समाचार

निर्मला पन्तका हत्यारालाई चाँडो कानूनी दायरामा ल्याउन राष्ट्रपति भण्डारीको आयो दबाब

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गरेकी छन् ।

उनले भनिन्, “ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो’ भन्ने मान्यतालाई गम्भीरतापूर्वक मनन् गरी हत्यामा सङ्लग्न अपराधीलाई कानूनी दायराभित्र ल्याई दण्डित गर्न सबै पक्ष सम्बेदनशील बन्नुपर्छ । ”

राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई आज यहाँ सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्मला पन्तका बाबु, आमा तथा परिवारजन न्यायका लागि छट्पटिरहनु दुःखद् हो भनिन् । उनले पन्तको बलात्कारपछि हत्याको घटनाले आफूलाई अत्यन्त दुःखी तुल्याएको चर्चा गर्दै यस दुःखद् घटनाप्रति परिवारजनमा सहानुभूति प्रकट गरिन् ।

राष्ट्रपति भण्डारीले संविधानप्रदत्त बालबालिकासम्बन्धी मौलिक अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै प्रभावकारी र व्यावहारिक कार्यान्वयनले मात्र बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार अन्त्य गर्न सकिन्छ भनिन् ।

बालबालिकामाथि हुुने हिंसा, दुव्र्यवहार, बलात्कार रोक्न प्रहरी, नागरिक समाज तथा घर परिवार एकजुट हुनुपर्छ उनले भनिन् । राष्ट्रपति भण्डारीले भनिन्, “कलिला बालिकामाथि हुने यौनजन्य हिंसा मानवताविरुद्धको कलङ्क हो, यसलाई जरैदेखि उखलेर फाल्नुपर्छ ।”

आजका बालबालिका भोलिका सक्षम र योग्य नागरिक हुन्, उनीहरुको जन्मदेखि नै स्वास्थ्य एवं शिक्षामा सरकारको विशेष ध्यान जानुपर्छ उनले भनिन् । यसवर्षको बाल दिवसको नारा “सुखी नेपाली, समृद्ध नेपाल बालअधिकार सबैको सरोकार” रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले संविधानप्रदत्त बालबालिकाका अधिकार कार्यान्वयनमा ल्याउन आवश्यक ऐन तयार गरी मन्त्रालयले संसदमा प्रस्तुत गरेको बताईन् । बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार तथा बलात्कारका घटना अन्त्य गर्न सामूहिक प्रयासको खाँचो उनले औँल्याईन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव वुद्धिबहादुर खड्काले बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न स्थानीय सरकार बढी सम्बेदनशील बन्नुपर्छ भनिन् । खगेन्द्र नवजीवन विद्यालय जोरपाटीमा कक्षा १० मा अध्ययरत छात्रा सविता थापाले पछिल्लो समय निर्धक्क रुपमा सडकमा हिडडुल गर्न नसकिने अवस्था सिर्जना भएको बताईन् । बालअधिकारकर्मी गौरी प्रधानले बालबालिका शान्ति क्षेत्र हुन् यसका लागि तीनै तहका सरकारले बालमैत्री नीति अवलम्बन गर्नुपर्छ भनिन् ।
उक्त कार्यक्रममा नेपालको ईतिहासमा दोस्रो राष्ट्रपति र पथम महिला राष्ट्रपति समेत रहेकी भण्डारीले सरकार र सम्बन्धीन निकायले निर्मला पन्तको बलात्कार र हत्या गर्नेको अनुसंधान गरी पत्ता लगाउन नसकेकोमा असन्तोस प्रकट गर्दै घुमाउरो पारामा ओली सरकारलाई दबाब समेत दिईन् ।