ब्रेकिङ न्युज

जेल छुटेको ६ महिनामै फेरि पुरानै धन्दामा, पक्राउ गर्न प्रहरीले चलायो गोली

६ असार, काठमाडौं । लागूऔषध मुद्दामा तीन वर्ष कैद सजाय भोगेर करिब ६ महिनाअघि जेलबाट छुटेका एक व्यक्ति फेरि लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीको गोली लागेपछि पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौंको बालकुमारीस्थित पुलमुनि खैरो हिरोइनको कारोबार भइरहेको सूचनाका आधारमा छापा मारेको थियो। प्रहरीका अनुसार टोली पुग्दा शंकास्पद व्यक्तिहरू भाग्न खोजेपछि सुरुमा हवाइ फायर गरिएको थियो। त्यसपछि पनि नरोकेपछि एक जनाको घुँडामुनि गोली प्रहार गरी नियन्त्रणमा लिइएको हो।

गोली लागेर पक्राउ पर्ने व्यक्ति पर्साको पटेवा सुगौली गाउँपालिका–४ का ३९ वर्षीय किशोर प्रसाद ओझैया हुन्। उनीसँगै कैलालीका अशोक भुल र सप्तरीका निरज कुमार मण्डललाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उनीहरूको साथबाट ३०० ग्राम खैरो हिरोइन र चार थान मोबाइल बरामद गरेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानका अनुसार ओझैया यसअघि पनि लागूऔषध मुद्दामै दोषी ठहर भएका थिए। उनले तीन वर्ष कैद र एक लाख चार हजार रुपैयाँ जरिवाना भुक्तान गरी २०८२ पुस १७ गते नख्खु कारागारबाट रिहा भएका थिए।

गोली लागेका ओझैयाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।