समाचार

सफाइमा काठमाडौँ महानगरपालिकाको सक्रियता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सफा शहर राख्नका लागि पाँच ठूला यन्त्र (जेट मेशिन) सञ्चालनमा ल्याएको छ । यन्त्रको पहिलो पटक प्रयोग गर्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले फोहर व्यवस्थापनप्रति जिम्मेवारीवोध गर्ने हो भने थोरै उपकरणले पनि शहरलाई दिगो रूपमा सफा राख्न सकिने बताए ।

महानगरका उपप्रमुख हरिप्रभा खड्गीले नागरिकले महसुस गर्ने गरी सफा शहर बनाउन हतार भइसकेकालेकाम गर्ने शैलीमा पनि केही परिवर्तन गर्नुपर्ने धारणा राखे । युरो मापदण्ड ४ बमोजिमका जेट मेशिन पाँच हजार लिटर क्षमताका छन् । त्यसमा चार हजार लिटर सफा पानी र एक हजार लिटर ढलको फोहर पानी अट्ने छुट्टाछुट्टै ट्याङ्की छन् । ढल तानेर सानो ट्याङ्कीमा राखिन्छ भने ठूलो ट्याङ्कीमा भएको सफा पानीबाट फोहर भएको ठाउँमा सफाइ गरिन्छ । सो जेट प्रयोगमा आइसकेपछि थुनिएको ढल खोल्दा एउटा जेट फोहर तान्न र अर्को जेट सफा गर्न जानुपर्ने छैन ।

जेटमा भएको स्प्रेगनले बिरुवामा भएको धुलो पखाल्न तथा सडक आसपास क्षेत्रमा सफा गर्न सकिन्छ । वडाध्यक्षको अगुवाइमा वडा क्षेत्रमा र केन्द्रको अगुवाइमा उक्त यन्त्रबाट पहिलो पटक रत्नपार्क, रानीपोखरी, बागबजार, पुतलीसडक, भृकुटीमण्डपमा सफाइ गरिएको छ । अघिल्लो साल वैशाखमा स्थानीय तहको निर्वाचनका समयमा जनप्रतिनिधिको पहिलो प्रतिबद्धतामध्ये सुन्दर र सफा शहर पनि थियो ।
महानगर प्रमुख अमेरिकातर्फ
कामपा प्रमुख शाक्य सात दिनका लागि अमेरिका प्रस्थान गरेका छन् । प्रमुख शाक्य अमेरिकाको भर्जिनियामा रहेको फेड्रिकवर्ग नगरको निमन्त्रणामा शनिबार प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष तथा कार्यपालिका सदस्यसहित त्यसतर्फ गएका हो । भ्रमणका क्रममा नगर नगर साझेदारीमा पर्यटन, सूचना प्रविधिको उपयोग, शिक्षा, स्वास्थ्य क्षेत्रका लाभ आदानप्रदान गर्ने विषयमा छलफल हुने कामपाले जनाएको छ । कामपा र फेड्रिकवर्गबीच विसं २०७४ असोज २४ गते भगिनी सम्बन्ध कायम भएको थियो ।