समाचार

रावा–कुभिण्डे सेवा समाजको साधारणसभा सम्पन्न, १०८ वर्षीया ज्येष्ठ नागरिकसहित डा, सम्मानित।

६ असार, काठमाडौं । रावा–कुभिण्डे सेवा समाज, खोटाङको साधारणसभा काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा १०८ वर्षीया जाल्पादेवी कोइराला तथा डा। सुरेश हाचेकालीलाई विशेष सम्मान गरिएको थियो। प्रमुख अतिथि खोटाङ सेवा समाजका अध्यक्ष तथा नायकरनिर्माता नवल खड्काले माला तथा सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले सम्मान गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस भएको बताउँदै समाजको सफलताको शुभकामना व्यक्त गरे।

उनले रावा–कुभिण्डे क्षेत्र प्राकृतिक, ऐतिहासिक, कृषि तथा पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त रहेको उल्लेख गर्दै ढुम्रेगढी, रावा खोला, पिर्माकोट, दुधकोशी जलाशय, लामीडाँडा विमानस्थल तथा लिची, सुन्तला र आँपजस्ता फलफूल उत्पादनका सम्भावनाहरूलाई संरक्षण र प्रवर्द्धन गर्न सबैको साझा प्रयास आवश्यक रहेको धारणा राखे

उनले खोटाङ र खोटाङवासीबीचको सम्बन्ध शरीर र श्वासजस्तै अभिन्न रहेको उल्लेख गर्दै जिल्लाको विकास, समृद्धि, पहिचान र संस्कृतिको संरक्षणका लागि देश तथा विदेशमा रहेका खोटाङवासीबीच निरन्तर सहकार्य हुनुपर्ने बताए।

कार्यक्रममा रावा–कुभिण्डे सेवा समाजले सामाजिक एकता, सांस्कृतिक संरक्षण र क्षेत्रीय विकासमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरिएको थियो। समाजका अध्यक्ष सिताराम पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खोटाङका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमस्थल सहभागीहरूले भरिभराउ बनेको थियो।