समाचार

राष्ट्रियसभा: थप पाँच विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको तेस्रो बैठकले मौलिक हकसँग सम्बन्धित पाँच विधेयक पारित गरेको छ । गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५’ र ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक, २०७५’ लाई प्रतिनिधिसभाको सम्बन्धित समितिको प्रतिवेदनसहित पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्तुत गरेको ‘जातीय भेद्भाव तथा छुवाछुत (कसूर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७५’ लाई प्रतिनिधिसभाको सम्बन्धित समितिको प्रतिवेदनसहित पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित भएको छ ।

त्यसअघि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले चार विधेयक प्रतिनिधिसभाको शनिबार र आइतबारको बैठकले पारित गरेको जानकारी दिएका थिए । ती विधेयकमा ‘अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’, ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’, ‘बालबालिकासम्बन्धी विधेयक, २०७५’ र ‘अपराधपीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ छन् । राष्ट्रियसभाको अर्को बैठक असोज ४ गते बिहान ११:०० बजे बस्नेछ ।