समाचार

सभामुखद्वारा समृद्धि र प्रगतिको कामना

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले जननिर्वाचित संविधानसभामार्फत नेपाली जनताले आफ्नो संविधान आफैँ जारी गरेको ऐतिहासिक अवसरमा समस्त नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले तीन वर्षअघि आजकै दिन नेपालको संविधान जारी गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक र समावेशी शासन व्यवस्थालगायत नेपाली जनताले प्राप्त गरेका उपलब्धिलाई संस्थागत गरिएको जनाए ।

उनले सन्देशमा भनेका छन्, “संविधानसभाबाट संविधानप्राप्तिका लागि विभिन्न कालखण्डका भएका गौरवपूर्ण जनसङ्घर्षमा शहादत प्राप्त गर्ने महान् शहीदप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु । सङ्घर्षका दौरान घाइते भएका सबै योद्धाको स्वास्थ्य लाभको कामना र योगदानको सम्मान गर्दछु ।”

नेपालको संविधान जारी भएको तीन वर्षका बीचमा संविधान कार्यान्वयनको प्रक्रिया निरन्तर अघि बढिरहेको उल्लेख गर्दै उनले संविधानले परिकल्पना गरेअनुसार तीन वटै तहका निर्वाचन सम्पन्न भई सङ्घीय शासन प्रणालीको अभ्यास हुनु, सबै तहमा स्थिर सरकारको निर्माण र सङ्घीय संसद्ले मौलिक हकसम्बन्धी सम्पूर्ण ऐन कानून निर्माण गरिसक्नु संविधान कार्यान्वयनको यात्रामा सुखद उपलब्धि भएको बताए ।

सभामुख महराले सन्देशमा आगामी दिनहरुमा पनि सङ्घीय संसद्ले बाँकी रहेका ऐन कानून निर्माणका कार्यलाई तदारुकताका साथै अघि बढाई संविधान कार्यान्वयनको कार्यलाई तत्काल निष्कर्षमा पु¥याउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

संविधानले आम नागरिकको मौलिक हकअधिकार र स्वतन्त्रताको सुनिश्चितता गरेको उल्लेख गर्दै उनले नेपाली जनताको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय एकता र स्वाभिमान एवं भौगोलिक अखण्डतालाई मजबुत बनाउँदै संविधान कार्यान्वयन र यसको पूर्ण पालना गर्न हामी सबैलाई प्रेरणा प्राप्त होस् भनी कामना गरेका छन् ।