अन्तर्राष्ट्रिय

मलेसियाका पूर्व प्रधानमन्त्री रजाक पक्राउ

क्वालालम्पुर । मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई बुधबार पक्राउ गरिएको छ । राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

नाजिब र उनका सहकर्मीहरुले राज्य कोषको दुरुपयोग गरेको भन्दै केही महिनादेखि अनुसन्धान भइरहेको थियो ।

गत मे महिनामा भएको निर्वाचनमा पनि नाजिबले राज्यको शक्ति र श्रोतको दुरुपयोग गरेको आरोप लगाउदै महाथिर मोहम्मद नेतृत्वको गठबन्धनले जित हासिल गरेको थियो । उनको गठबन्धनले नै अहिले सरकार बनाएको छ ।

विगतमा रजाककै संरक्षक रहनु भएका ९३ वर्षीय महाथिरले नाजिबले मुलुकलाई सही दिशातिर लैजान नसकेको भन्दै आफू फेरि राजनीतिमा फर्किनु परेको चुनावी नारा बनाएका थिए ।

नयाँ सरकार बनेको केही समयमै पूर्व प्रधानमन्त्री नाजिबलाई अनियमिततासम्बन्धी सात वटा आरोप लगाइएको थियो । तर पक्राउ भने बुधबार गरिएको छ ।

पक्राउ परेका नाजिबलाई बिहीबार दिउँसो अदालतमा लगिने भएको छ । त्यहाँ उनका विरुद्धमा लगाइएका आरोपहरुका बारेमा मुद्दा चलाउन लैजान लागिएको भ्रष्टाचारविरुद्धको आयोगले जनाएको छ ।