२५ जेठ, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेमाथि गम्भीर आरोप लगाएका छन्।
करको दर हेरफेरको गोप्य सूचना चुहाएको आरोप लगाउदै शाहीले वाग्लेमाथि छानबिन गरिनुपर्ने माग गरेका छन्।
आज प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले बजेट सार्वजनिक हुनुपूर्व नै करका दरहरू चुहावट गरिएको दाबी गर्दै अर्थमन्त्रीमाथि उच्चस्तरीय छानबिनको माग राखेका हुन्।
संसद्मा सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै उनले बजेट निर्माणका क्रममा करका दर कति र कसरी हेरफेर हुँदैछन् भन्ने कुरा नितान्त अर्थमन्त्री र उनले तोकेका सीमित व्यक्तिबाहेक कसैलाई, यहाँसम्म कि विभागीय सचिवलाई समेत थाहा नहुने उल्लेख गरे।
बजेट घोषणा हुनु अगावै अत्यन्तै संवेदनशील सूचना बाहिरिएकै कारण जेठ १४ गते केरलाबाट ७५३ वटा बीवाईडी ब्रान्डका विद्युतीय गाडीहरू हतार-हतार भन्सार पास गराइएको र ती गाडीहरू जेठ २० गते नेपाल आइपुगेको दाबी उनले गरेका छन् ।
यस्तो गम्भीर आर्थिक चलखेल र अपराध भइसकेपछि सरकार आफैंले छानबिन समिति बनाएर केवल कर्मचारीहरूलाई मात्र बलिको बोको बनाउन खोजेको भन्दै उनले कडा आक्रोश पोखेका छन् ।
सांसद शाहीले संसद्मा प्रस्तुत गरिने बजेटमाथि अनाधिकृत छेडछाड गर्ने र करका दरहरू व्यापारिक स्वार्थ समूहका लागि चुहावट गर्ने कार्य सामान्य बदमासी नभई देशविरुद्धको ‘राजद्रोह’ भएको जिकिर गरे।




