समाचार

विकास निर्माणमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

बैठकको शून्य समयमा सांसद अनिता देवकोटाले वर्षाका कारण दाङ घोराइ–रुकुम रोल्पा सडक जीर्ण बनेको तथा निर्माणाधीन पुल पुलेसा चाँडो सम्पन्न नहुँदा स्थानीय जनजीवन कष्टकर बनेको भन्दै चाँडो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।

सांसद कमलाकुमारी वलीले प्रदेश नं ७ को कैलालीको सुकुम्वासी गाउँमा विसं २०३६ मै लालपूर्जा पाए पनि अहिलेसम्म जग्गाको नापी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद खेमराज नेपालीले प्रदेश नं १ प्रवेश गर्ने सप्तकोशी नजिकको भण्डाबारीको पुल लामोसमयदेखि निर्माण हुन नसकेको भन्दै सो पुल तत्काल निर्माणका लागि पहल गरिनुपर्नेमा जोड दिए ।

सांसद खिमकुमार विकले स्वीस बैंकमा नेपालको अकूत सम्पत्ति (उक्त बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा ३२२.८८ मिलियन स्वी फ्रेन्च भएको) रहेको पाइएकाले ठूलो मात्राको धनको खोजबिन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद उदयराज पौडेलले संविधान दिवसको शुभकामना व्यक्त गर्दै यसको सफल कार्यान्वयनमा सबैको सक्रियताको खाँचो औँल्याए ।

मुलुकी संहितासम्बन्धी विधेयक प्रस्तुत

आजको बैठकमा विधायन समितिका सभापति परशुराम मेघी गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

यसैगरी राष्ट्रिय सभाको सचिव डा भरतराज गौतमले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त ‘पारमाणि विज्ञान तथा प्रविधिसम्बन्धी अनुसन्धान, विकास र तालीमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौता, २०७१’ लाई टेबुल गरेको छ ।

बैठकले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा राष्ट्रियसभाबाट प्रतिनिधित्व गर्ने तीन सदस्यलाई मनोनयनसमेत गरेको छ । सांसद कालीबहादुर मल्ल, रामलखन चमार र राधेश्याम अधिकारीलाई सदस्यमा मनोनयन गरेको हो ।
सङ्घीय संसद्अन्तर्गत गठन भएको संयुक्त समितिमा यसअघि प्रतिनिधिसभाबाट ११ जना सदस्य मनोनीत गरिसकेको छ । राष्ट्रियसभाले चार जना सदस्य उक्त समितिमा पठाउनुपर्नेमा अब एक जना सदस्यको नाम मनोनयन गर्न बाँकी रहेको छ ।

उक्त संयुक्त समितिको निर्वाचन आगामी असोज ७ गते आइतबार दिउँसो १ बजेका लागि तोकिएको पनि बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी गराए । राष्ट्रियसभाको अर्को बैठक असोज ७ गते आइतबार बिहान ११ बजे बस्नेछ ।