शिक्षा

पहिलो पटक इन्जिनियरिङ विषयको पढाइ शुरु

पाल्पा । ग्रामीण क्षेत्रको रैनादेवी छहरा गाउपालिकाको कालिका सामुदायिक विद्यालयले पहिलो पटक तीन वर्षे सिभिल इञ्जिनीयरिङ विषयको पढाइ शुरु भएको छ । गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले सिभिल इञ्जिनीयरिङ विषयको अध्ययनले दक्ष जनशक्ति उत्पादनमा सहज हुने र बढ्दो बेरोजगार समस्या पनि समाधान हुने बताए ।

यस वर्ष प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद्बाट विद्यालयलले सिभिल इञ्जिनीयरिङ विषय सञ्चालन गर्ने अनुमिति पाएपछि पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक जनार्दन पाण्डेयले जानकारी दिए । उनले प्राविधिक शिक्षा अध्ययनका लागि गाउँपालिका भन्दा बाहिर सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको बताए ।

विद्यालयले यस वर्ष बढीमा ४८ विद्यार्थीलाई पढाउन सक्ने गरी व्यवस्थापन गरिएको बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थर्कबहादुर पुन मगरले गाउँमा प्राविधिक धारको शिक्षाको विकासले दक्ष जनशक्ति उत्पादन हुने र गाउँको विकासमा सहयोग पुग्ने समेत बताए । उक्त विद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी छन् ।

बालबालिकालाई टिफिनबक्स वितरण

घरमै बनाएको स्वच्छ खाना उपभोग गराउने उद्देश्यले रैनादेवी छहरा गाउँपालिकाभित्रका सबै बाल विकास केन्द्रका विद्यार्थीलाई टिफिनबक्स उपलब्ध गराइएको छ । उक्त गाउँपालिका भित्र ५१ बाल विकास केन्द्रका ६७३ बालबालिकालाई टिफिनबक्समा खाजा ल्याउन सहज होस् भन्ने उद्देश्यले टिफिनबक्स वितरण गरिएको गाउँपालिका प्रवक्ता विष्णु पोखरेलले बताए ।

घरबाट खाजा बोकेर ल्याउँदा सफा र ताजा हुनाका साथै खाजाका किन्ने पैसा बचत हुने भएकाले रु तीन लाख खर्चेर टिफिनबक्स वितरण गरिएको गाउँपालिका प्रवक्ता विष्णु पोखरेलले बताए । तयारी खाजा सेवन निषेध गर्ने लक्ष्यका साथ घरमा पकाएको खाजा विद्यार्थीले ल्याउन भन्ने उद्देश्यले टिफिनबक्स वितरण गरिएको स्रोत व्यक्ति झलक रायमाझीले जानकारी दिए ।

टिपिनबक्समा दैनिक खाजा ल्याएर खान पाएपछि बालबालिकासमेत खुशी भएका छन् । गाउँपालिकाले प्रत्येक वडाका एक/एक बाल विकास केन्द्रलाई खेल सामग्री पनि वितरण गरेको उनले बताए ।