खेलकुद

११ औँ राष्ट्रिय स्क्वास: भावना र कृष्णाको दोहोरो जीत

काठमाडौँ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत ११ औँ राष्ट्रिय स्क्वासको महिला एकलमा प्रदेश नं ३ की भावना सुनुवार र गण्डकी प्रदशकी कृष्णा थापाले बिहीबार दोहोरो जीत हासिल गरेका छन् ।

भावनाले गण्डकीकी सालिनी घिमिरेलाई ११–२, ११–० र ११–१ ले तथा प्रदेश ३ की स्वस्थानी श्रेष्ठलाई ११–५, ११–४ र ११–७ को सोझो सेटमा पराजित गरिन् । कृष्णाले आफ्नै प्रदेशकी सालिनीलाई ११–२, ११–० र ११–१ तथा प्रदेश ३ की मन्जिला मगरलाई ११–३, ११–२ र ११–३ को सीधा सेटमा हराइन् । प्रदेश ३ की विपना ब्लोनले आफ्नै प्रदेशकी मन्जिलालाई ११–१, ११–४ र ११–४ को सोझो सेटमा हराइन् ।

पुरुष एकलको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा प्रदेश ३ का राजेन्द्र शाक्यले त्यही प्रदेशका प्रवीणवीर सिंह कंशाकार तथा प्रदेश २ का दीपक थापाले गण्डकीका अमृत थापा मगर विरुद्ध प्रतिस्पर्धा गर्ने छन् । क्वाटरफाइनलमा राजेन्द्रले प्रदेश ३ का अमिर ब्लोनलाई ३–११, ११–२, ११–३ र ११–६, दीपकले प्रदेश १ का निशान्त अग्रवाललाई ११–६, ११–५, ५–११ र ११–६, अमृतले एपीएफका उमिद शाक्यलाई ११–५, ११–२ र ११–८ तथा प्रवीणले एपीएफका विक्रम मगरलाई ११–९, ११–२ र ११–२ को सेटमा हराए ।