आर्थिक

प्राईम बैंकले भित्र्यायो कन्काई विकास बैंकलाई, अब ८९ साखा

काठमाण्डौ । प्राईम कमर्शियल बैंकले कनकाई विकास बैंकलाई प्राप्ती गरेको छ । काठमाण्डौ महानगरपालिका वडा नं. २८, कमलपोखरीं स्थित केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैंकले दमक–६, थाना रोड, झापा स्थित केन्द्रीय कार्यालय रहेको “ख” वर्गको वित्तीय संस्था कन्काई विकास बैंकलाई प्राप्ति – (एक्विजिसन) गर्ने सम्वन्धी सहमतिपत्रमा आज एक समारोहका बिच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सो सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काई विकास बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सेवक दाहालले एक समारोहका बिच सहमतिपत्रमा हस्ताक्षर गरे । नियमनकारी निकाय, श्री नेपाल राष्ट्र बैंकले प्राथमिकताका साथ जोड दिइरहेका विषयहरु मर्जर र एक्विजिसन, ग्रामीण क्षेत्रमा विशेषगरी कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जनाको साथै थप सुदृढ र सवल बैंकको रुपमा मुलुकको समग्र आर्थिक विकासमा सहभागिता बढाउने उद्देश्यले कन्काई विकास बैंकलाई एक्विजिसन गर्न सहमति जनाइएको छ ।

कन्काई विकास बैंकका ग्रामीण क्षेत्रमा शाखा संजालहरु रहेका छन । प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ८९ हुनेछ ।

नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको मार्ग निर्देशन बमोजिम एक्विजिसन कार्यलाई यथासम्भव छिटो सम्पन्न गर्ने सहमति भएको छ ।