जेरूसेलम । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले अमेरिकाद्वारा इरानविरूद्ध गरेको आक्रमणको तयारीबाट पछि हट्नुलाई ‘कमजोरी’ नठान्न इरानलाई चेतावनी दिए ।
जेरूसेलम भ्रमणमा रहेका जोन बोल्टनले आइतबार इजरायली प्रधानमन्त्रीसँगको भेटपूर्व सञ्चारकर्मीसँग बोल्दै उनले भने, “इरान वा उसका सहयोगी अन्य कुनै मुलुकले घटनालाई कमजोरी नठानोस् । यो त केबल अमेरिकाद्वारा धेरै मानिसको क्षति नहोस भन्नका लागि अपनाएको सावधानी हो ।”
“उक्त समय अमेरिकाले संयमित नबनेको भए धेरै निर्दोष इरानी सर्वसाधारणको पनि ज्यान जानसक्थ्यो,” उनले भने । उनले नेतन्याहुसँग भेटेपछि संयुक्त प्रतिक्रिया दिँदै भने, “मध्यपूर्वका जनतामाथि धावा बोल्ने अधिकार कसैलाई छैन ।”
बोल्टनले इरानलाई आणविक हतियार निर्माण गर्न र भण्डारण गर्न कहिल्यै दिइने छैन भन्ने कुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उल्लेख गरिसकेको जनाउँदै अमेरिकी सेना तयारी अवस्थामा रहेको बताए ।





