सुदूरपश्चिम

लम्की खक्रौला सडक चार लेन बनाउन रु ५० करोड बजेट माग

लम्की । कैलालीको पूर्वी क्षेत्रका जनप्रतिनिधिले प्रदेश सरकारलाई लम्की–खक्रौला सडकखण्डका लागि यसै आर्थिक वर्षमा रु ५० करोड बजेट विनियोजन गर्न माग गरेका छन् । यस क्षेत्रका जनप्रतिनिधिले सडक चार लेन बनाउने लगायतका अन्य माग सुदूरपश्चिम प्रदेश सरकारलाई बुझाएका हुन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर जनप्रतिनिधिले माग पत्र बुझाएका हुन् । मागमा लम्की खक्रौला सडकखण्ड कालोपेत्रे प्रमुख छ । “पछिल्लो पटक सरकारले खक्रौलालाई मूल भन्सारका रुपमा स्तरोन्नति गरेको छ, स्तरोन्नति भए पनि खक्रौलादेखि टीकापुुर हुँदै लम्कीसम्मको बाटोको अवस्था नाजुक रहँदा सत्ति भन्सारबाट आउने ढुवानी साधनलाई समस्या हुँदै आएको छ”, नेपाली काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले भने ।

सङ्घीय सरकारले खक्रौला लम्की, लोडेघाट, बयालपाटा, साँफेबगर चैनपुर खडकमा रु पाँच करोड छुट्टयाएको रातो किताबमा उल्लेख छ तर यो रकम अति न्यून रहेकाले कम्तीमा पनि लम्की खक्रौला सडक प्रदेश सरकारले बनाउनैपर्ने आफूहरुको माग रहेको जनप्रतिनिधिले बताए ।

प्रतिनिधिमण्डलले कर्णाली चिसापानीदेखि सोल्टासम्मको सडक कम्तीमा दुई लेन बनाउन रु ३० करोडसमेत माग गरेको छ । यस्तै सन्कट्टी घाटमा पुल निर्माणका लागि रु २० करोड र टीकापुर एयरपोर्ट कालोपत्रे गर्न रु आठ करोड रकम माग गरेको छ । प्रतिनिधिमण्डलले प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहोरालाई समेत भेटेर माग बुझाएको हो ।

प्रतिनिधिमण्डलमा नेपाली काङ्ग्रेस संसदीय दलका नेता रावल, प्रदेशसभाका सदस्य रतन थापा, जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापा, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावल, मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावल, जानकी गाउँपालिकाका अध्यक्ष प्रदीप चौधरी र लम्की चुहा नगरपालिकाका उपप्रमुख टीकापुर थापा रहेका थिए ।