काठमाडौं । इसाई धर्मावलम्बीहरुको महान पर्व क्रिसमसको अवसरमा प्रधानमन्त्री केपी शर्मा खोलीले शुभकामना दिएका छन् । आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देशमा यस्ता विशेषताहरु मौलिक पूँजीको रुपमा रहेको उल्लेख गर्दै उनले एकता र सहिष्णुताको यस पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।
विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु मुलुकको राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भएको भन्दै नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको उल्लेख गरेका छन् ।
विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै यहाँ विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको उनको विज्ञप्तिमा उल्लेख छ ।
लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको बताउँदै यस विशेषतालाई आत्मसात गर्दै आफु समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा रहेको बताए ।
विज्ञप्तिको अन्त्यमा प्रधानमन्त्री ओलीले अन्त्यमा, नेपालको स्वाधीनता, एकता तथा राष्ट्रिय अखण्डतालाई मजबुत बनाउँदै र विभिन्न जात–जाति, धर्म, समुदाय बीचको सुसम्बन्धलाई प्रगाढ तुल्याउँदै, मुलुकको विकास र समृद्धिको अभियानमा जुट्न पुनः हार्दिक आह्वान गर्दछु । र, इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा क्रिसमस पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु ! भनेका छन् ।





