पु.समाचार

अख्तियारद्वारा घूस दिएको आरोपमा एकै दिन सात जनामाथि मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धानले आफ्नो पदको दुरूपयोग तथा प्रहरी निरीक्षकलाई नै घूस दिएर भ्रष्टाचार गरेको अभियोगमा सात जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आयोगले सप्तरीको महादेवा गाउँपालिका– ६ का वडासचिव नवोनाथ मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी जवान सरोजकुमार यादव, कर्णाली प्राविधिक शिक्षालयमा कृषि प्रशिक्षण सहायक चन्द्रसिंह खत्री उनका सहयोगीद्वय टङ्कप्रसाद चौलागाईं र गंगाराज शाही तथा स्याङ्जा वालिङ नगरपालिका– ८ का चौपाया व्यापारी जहरुद्दिन तेलीविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन वडासचिव मिश्रलाई २ लाख रुपैयाँ सेवाग्राहीसँग घूस लिएको, प्रहरी जवान यादवले घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिन १५ हजार रुपैयाँ असुलेको, खत्री, चौलागाईं र शाहीले उत्तर पुस्तिका परिवर्तनका साथै परीक्षाको गोपनीयता भंग गरेकाे तथा तेलीले गोरु व्यापारमा सघाउन प्रहरी निरीक्षकलाई घूसबापत १५ हजार रुपैयाँ उपलब्ध गराएकाले घूसबापत दिए/लिएको बिगो रकम जफत हुनुपर्ने मागदाबीसहित आरोपपत्र दायर गरेको आयोगले जनाएको छ ।