साहित्य

गरिब बाबु पस्यो चिसो भान्सामा !

एकाबिहानै ओछ्यानमा
भोकले हप्तौँ थलिएका
नाबालक छोरीहरूलाई
आँसुले टलपल आँखाले
एक निमेष नियालेर
थोरै पिठ्युँमा सुमसुम्याएर
जब गरिब बाबु पस्यो
चिसो भान्सामा
चुल्होमा छरिएको खरानी
कटकटिएका आल्मुनियमका भाँडाकुँडा
एउटा थालमा उसले
केही वर्ष अघि निमोनियाले बितेकी
आफ्नी श्रीमतीको प्रतिबिम्ब देख्यो
हातको ईशाराले आफूलाई बोलाइरहेकी
विचित्रको अनुभूति
एकप्रकारको सम्बोधी झैँ
थोरै खरानी पन्छाएर दाउरा जोर्‍यो
थैलोमा बाँकी अलिकति पिठो
खन्याएर दिउरेमा
ओडाल्यो थोरै ढिँडो
निकै दिन पछि
सायद चुल्हो मुस्कुरायो अलिकति
नुनको ढिक्को फोरेर राख्यो छेउमा
दुवै हातमा ताता बटुका बोकेर
छोरीहरूका समीपमा पुग्यो
लोलाएका आँखाहरू जब बटुकामा ठोक्किए
निर्दोष छोरीहरूका अनुहार
धप्प बलेझैँ लाग्यो उसलाई
उठाएर ओछ्यानबाट
खुवायो मुटुका टुक्राहरूलाई
अनायासै मुखबाट निस्क्यो उसको
नानु ! अब हामी मर्न जानु पर्छ
लुगा लगाउन उठ
एउटीले सोधी बाबा ! मरेपछि सधैँ खान पाइन्छ?
उसले भन्यो हो, मरेपछि सधैँ अघाइन्छ
नाइलनको डोरी कम्मरमा बेरेर
मर्न हिँडे बाबु छोरी तिनै जना
रूखको जामुन
कति खुवाउँथ्यो उ छोरीहरूलाई
आज रूखमा फल्न तम्सिए आफै
पवन रोकियो सूर्य लुके बादलभित्र
हिक्क हिक्क गर्दै
खाएको ढिँडो उगेल्दै
हिँडे बाबु छोरी सधैँ अघाउन
अनि आमा र अर्धाङ्गिनीसँग सधैँ रमाउन!!