२२ जेठ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। भारत भ्रमणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सीमा लगायतका संवेदनशील विषयहरू कूटनीतिक माध्यमबाट चरणबद्ध रूपमा उठाइने बताएका छन्।
लामिछानेले भ्रमण पूर्ण रूपमा पारदर्शी रहेको दाबी गर्दै सबै औपचारिक भेटवार्तामा नेपालका कूटनीतिक प्रतिनिधिहरूको उपस्थिति रहेको जानकारी दिए। उनले नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिमार्फत थप सुदृढ बनाउने विषयमा भारतीय पक्षसँग सकारात्मक छलफल भएको बताए।
उनका अनुसार भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतीय जनता पार्टीका अध्यक्षलाई नेपाल भ्रमणको निमन्त्रणा दिइएको छ। दुवै नेताले नेपाल भ्रमणप्रति सकारात्मक प्रतिक्रिया जनाएको उनले बताए।
लामिछानेले नेपाल र भारतबीच आर्थिक सहकार्य, कनेक्टिभिटी, धार्मिक पर्यटन, सूचना प्रविधि तथा खेलकुदलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको जानकारी दिए। भारतमा आफूलाई गरिएको भव्य स्वागतलाई उनले व्यक्तिगत नभई नेपाल र नेपाली जनताप्रतिको सम्मानका रूपमा व्याख्या गरेका छन्।





