३१ असार, काठमाडौं । सेयर बजारले बुधबार लगातार दोस्रो दिन पनि सकारात्मक लय कायम राखेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ अंकले बढेर २,५९० विन्दुमा पुगेको हो। दिनभर बजार हरियो देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा झण्डै आधाले घटेको छ।
यस दिन कुल ४ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। मंगलबार ८ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको थियो। अघिल्लो दिन ऋणपत्रको असाधारण कारोबार भएको प्रभाव हटेसँगै बुधबार समग्र कारोबार रकम घटेको विश्लेषण गरिएको छ। ऋणपत्र कारोबार ४ अर्ब ७६ करोडबाट घटेर १ अर्ब ३२ करोड रुपैयाँमा सीमित भएको थियो।
बजारमा १९१ कम्पनीको सेयर मूल्य बढ्दा ६४ कम्पनीको घट्यो भने १९ कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत सूचकतर्फ विकास बैंक क्षेत्र सबैभन्दा धेरै १.३७ प्रतिशतले उकालो लाग्यो। त्यसैगरी बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, व्यापार लगायत अधिकांश उपसूचकमा वृद्धि देखियो। लगानी समूह भने ०.४६ प्रतिशतले घटेको छ।
व्यक्तिगत कम्पनीतर्फ नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.४० प्रतिशतले बढेर सबैभन्दा अगाडि रह्यो। त्यसपछि थ्रीस्टार हाइड्रोपावर, सागर डिस्टिलरी र भुजुङ हाइड्रोपावरको मूल्य पनि उल्लेख्य रूपमा बढ्यो। यता उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ७.३२ प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा सिद्धार्थ बैंक, आँखुखोला जलविद्युत्, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स र एनआरएन इन्फ्रास्ट्रक्चर सबैभन्दा बढी कारोबार भएका कम्पनी बने।





