शिक्षा

व्यावसायिक शिक्षालाई संस्थागतरुपमा अगाडि बढाउनुपर्छ : नेता गौतम

काठमाडौं । नेपाली काँग्रेसका नेता सञ्जयकुमार गौतमले व्यावसायिक शिक्षालाई संस्थागतरुपमा अगाडि लैजानुपर्ने बताएका छन् ।

नवोदित विद्या कुञ्ज माध्यामिक विद्यालय सामाखुशीको २७औँ अभिभावक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले देश विकासका लागि व्यावसायिक शिक्षालाई सरकारले प्राथमिकता दिएर अगाडि लैजानुपर्ने बताए । “योग्य नागरिक उत्पादन गर्न मुलुक अनुकूलको शिक्षा आवश्यक छ, त्यो शिक्षालाई सरकारले प्राथमिकता दिनुपर्छ”, पूर्वमन्त्री समेत रहेका उनले भने ।

बर्दिया क्षेत्र नं १ का प्रतिनिधिसभा सांसदसमेत रहनुभएका गौतमले समृद्ध मुलुक निर्माण गर्नका लागि आवश्यकपर्ने शिक्षा नीति बनाउनुपर्ने उल्लेख गरे । उनले सरकारले सार्वजनिक विद्यालयमा ठूलो लगानी गरे पनि राम्रो शिक्षा नभएको गुनासो बढिरहेकाले निजी विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सुझावसमेत दिए ।

नेपाल सरकारका उपसचिव देशबन्धु अधिकारीले कुनै पनि विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गर्न शिक्षक, अभिभावक र विद्यार्थीको उत्तिकै जिम्मेवारी रहेको बताए । “विद्यार्थी आठ घण्टा विद्यालयमा बस्ने भएकाले घरमा बस्ने अभिभावकको पनि विद्यार्थीको शिक्षाप्रति उत्तिकै जिम्मेवारी छ”, उनले भने । गायक पशुपति शर्माले विद्यार्थीले अनुशासित र मर्यादित भएर अध्ययन गरेमात्र उत्कृष्ट नतिजा प्राप्त गर्नसक्ने बताए । विद्यालयका प्राचार्य राजेन्द्र अधिकारीले सामाखुशी क्षेत्रको शैक्षिक विकासका लागि नवोदित स्कुलले विगत २७ वर्षदेखि महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

नवोदित विद्यालयका सहप्राचार्यद्वय गुनबहादुर अधिकारी र विकासराज शर्माले २१औँ शताब्दीलाई सुहाउँदो शिक्षा प्रदान गर्न विद्यालय हरदम प्रयासरत रहेको उल्लेख गरे । कार्यक्रममा कलाकार शर्मा, रमेशराज भट्टराईलगायतले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै अभिभावक दिवसका विभिन्न कार्यक्रममा उत्कृष्ट विद्यार्थी तथा अभिभावकलाई सम्मान गरिएको थियो ।