समाचार

ओली अस्पताल भर्ना, भन्छन्, ‘अस्पतालबाट निस्केपछि थप ईनर्जीसहित काममा फर्किन्छु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि आज साँझ ६ः१५ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आइपुगेका छन् । सो अस्पतालका युरोलोजी विभागका युरोलोजिष्ट डा प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको छ चिकित्सकको निगरानीमा उनको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ । प्रा. डा. दिव्यासिंह शाह, दिलीप शर्मालगायतको टोली प्रत्यारोपणमा संलग्न हुनेछ ।

प्रत्यारोपणपूर्व उनको आज रगत, दिसापिसाबलगायत जाँच हुने डा ज्ञवालीले जानकारी दिए । “प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई आजदेखि ‘प्रिप्रेशन’मा राखिनेछ”, उनले भने । उनको मुटुको एञ्जियोग्राफी जाँच गर्दा भने मुटुमा कुनै समस्या नदेखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टर मुटु रोग विभाग प्रमुख प्रा डा अरुण सायमीले बताए ।

प्रधानमन्त्री ओलीले आफू अस्पतालबाट मृगौला प्रत्यारोपणपश्चात उर्जा लिएर फर्किने मिडियालाई बताएका छन् । प्रधानमन्त्री ओलीका बिरुद्धमा पछिल्लो समयमा बामदेब गौतमलाई राष्ट्रिय सभामा ल्याउने, जन्मदिनको केकमा नेपालको नक्सा लगायतका बिषयमा बिबाद भईरहेकोले केही दिनदेखी निरास भएका थिए। काँग्रेसले प्रधानमन्त्री ओलीको बिरोध गर्नु स्वभाबिक भएपनि नेकपाका नै शीर्ष नेताहरुको खुलेआम बिरोधको शिकार प्रधानमन्त्री ओली भएका थिए ।