समाचार

चिकित्सक भन्छन्, ‘प्रधानमन्त्री ज्यूलाई छ दिनमा डिस्चार्ज गर्छौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुने भनिएपछि अपराह्नदेखि नै सञ्चारकर्मी अस्पतालमा पुगेका थिए ।

उनी आउने प्रतीक्षामा सञ्चारकर्मी दिनभरि नै अस्पताल परिसरमा रहेका थिए तर प्रधानमन्त्री बालुवाटारमा विभिन्न कार्यक्रममा सहभागी भएर मात्र साँझ ६ः१० मा अस्पताल पुगे । उनी ढोकाभन्दा पर नै गाडी रोकेर हिँड्दै अस्पताल प्रवेश गरेका थिए । प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलसमेत रहेको थियो ।

प्रधानमन्त्री ओलीको बुधबार पुनः मिर्गौला प्रत्यारोपण गरिँदै छ । मिर्गौला दिने व्यक्तिको नाम औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । दाताको सबै परीक्षण भने गरिसकिएको छ । नेकपाका अध्यक्ष ओलीको २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । “त्यतिबेला नेपालमा मिर्गौला प्रत्यारोपणको सेवा नभएकाले भारतमा गरिएको थियो”, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, “तर अहिले नेपालमा नै मिर्गौला प्रत्यारोपणको सेवा उपलब्ध रहेको छ । नेपालकै अनुभवी चिकित्सक, विशेषज्ञ र अस्पताल रहेका छन् । मुलुकले हासिल गरेको यो सामथ्र्यमा गौरव गर्दै प्रधानमन्त्रीले स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णय लिनुभएको हो ।”

गत कात्तिकयता मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्रीले नियमित डायलोसिस गराउँदै आएको छ । चिकित्सकको सल्लाहमा नै उनी अहिले पुनः मिर्गौला प्रत्यारोपण गर्दै छन् । प्रेस सल्लाहका थापाले प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे समय-समयमा जानकारी गराइने र अस्पतालले पनि बुलेटिनमार्फत जानकारी दिने बताए ।

शिक्षण अस्पताल, प्रत्यारोपण विभागका प्रमुख प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा टोली तयारी अवस्थामा छ । प्रा. डा. ज्ञवालीसँगै अस्पतालका युरोलोजी विभागका प्रमुख डा. उत्तम शर्मा, डा. पवन चालिसे, प्रा. डा. दिव्यासिंह शाहलगायत चिकित्सकको सहभागिता रहनेछ । प्रत्यारोपण टोलीलाई सघाउन भारतबाट पनि विशेषज्ञ चिकित्सक नेपाल आएका छन् । डा. ज्ञवालीले प्रत्यारोपणपूर्व उनको रगत, दिसा पिसाबलगायत जाँच हुने बताए । “प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई आजदेखि प्रत्यारोपणको पूर्वतयारीमा राखिनेछ”, उनले भने ।

प्रधानमन्त्री ओलीको मुटुको एन्जियोग्राफी गर्दा भने मुटुमा कुनै समस्या नदेखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरका मुटु रोग विभाग प्रमुख प्रा. डा. अरुण सायमीले जानकारी दिए । “प्रधानमन्त्रीको एन्जिओग्राफी गरियो, प्रधानमन्त्री प्रत्यारोपणका लागि तयारी अवस्थामा हुनुहुन्छ”, उनले भने, “प्रत्यारोपणका लागि प्रधानमन्त्रीको शारीरिक अवस्था अत्यन्त ठीक छ, त्यही भएर आज भर्ना हुनुभएको हो ।”

प्रधानमन्त्री ओलीले आफ्नो मिर्गौला प्रत्यारोपणका लागि अस्पताल जानुपूर्व आज भिडिओ सन्देश दिएको थियो । अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओली आज दिनभर आफ्नो निवास बालुवाटारमा विभिन्न कार्यक्रममा व्यस्त थिए । प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय योजना आयोगको आजै बसेको पूर्ण बैठकले १५ औँ योजनाको आधारपत्रलाई स्वीकृत गरेको थियो ।

तयारी पूरा
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी पूरा भएको अस्पतालले जनाएको छ । उनका लागि आवश्यक मिर्गौला दिने व्यक्ति पनि आजै अस्पताल भर्ना भइसकेको छ । आजै साँझदेखि नै प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण हुने छ । शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले भने, “कुनै पनि ‘अप्रेशन’ गर्नका लागि केही तयारी गर्नुपर्छ, त्यही तयारीका लागि प्रधानमन्त्रीलाई आजै अस्पताल भर्ना गरिएको हो ।” प्रधानमन्त्री ओली शिक्षण अस्पतालको अतिविशिष्ट व्यक्तिका लागि छुट्टयाइएको ‘डिलक्स’ कक्षमा भर्ना भएको छ । उनी ६०१ नं शय्यामा भर्ना भएको छ ।

प्रधानमन्त्रीले स्वदेशमै मिर्गौलाको प्रत्यारोपण गर्ने निर्णय लिएपछि यसलाई शिक्षण अस्पताल चिकित्सकले अवसरका रुपमा लिएका छन् । “हामीले अवसरका रुपमा लिएका छौँ”, उनले भने, “शिक्षण अस्पतालप्रति सबैको विश्वास थियो, यो झन् बढेर गएको छ ।”

छ दिनमा घर पठाउँछौँः कार्यकारी निर्देशक
मिर्गौला प्रत्यारोपण गरेका बिरामी सामान्यतयाः छ दिनमा घर फर्कन सक्नेछन् । कार्यकारी निर्देशक खड्गाले प्रत्यारोपण सम्पन्न भएको छ दिनमा प्रधानमन्त्रीलाई घर पठाइने बताए । “अहिलेसम्मको हाम्रो अनुभवले त्यही बताउँछ”, उनले  भने , “हाम्रो लक्ष्य पनि त्यही छ, प्रत्यारोपण भएको छ दिनमा ‘डिस्चार्ज’ गर्छौँ, हाम्रो ‘रुटिन’ त्यही हो, कुनै पनि बिरामीलाई पाँचदेखि छ दिनमा घर पठाउँछौँ ।”

शिक्षण अस्पतालमा साताको एक दिन बुधबार मिर्गौला प्रत्यारोण हुँदै आएको छ । एक जनामा मिर्गौला प्रत्यारोपण गर्न तीनदेखि चार घण्टा लाग्ने उनले बताए । सातामा दुई वटा मिर्गौला प्रत्यारोपण हुँदै आएको कार्यकारी निर्देशक खड्गाले जानकारी दिए ।

सेवा शुभारम्भ गरिएको एक दशकका अवधिमा शिक्षण अस्पतालमा हालसम्म करीब ८०० जनामा मिर्गौलाको सफल प्रत्यारोपण भइसकेको उनले जानकारी दिए । शिक्षण अस्पतालमा २०६५ साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।

सर्वसाधारणबाट प्रशंसा
स्वदेशमै मिर्गौलाको प्रत्यारोपण गर्ने देशका कार्यकारी प्रमुखको निर्णयको जनस्तरमै तारिफ भएको छ । सानोभन्दा सानो स्वास्थ्य समस्याको उपचारका लागि विदेश जाने परम्परा त्यागेर स्वदेशमै उपचार गर्ने प्रधानमन्त्रीको निर्णय धेरै राम्रो भएको सर्वसाधारणको प्रतिक्रिया छ ।

शिक्षण अस्पताल परिसरमा भेटिएका धापासीका दीपक शर्माले प्रधानमन्त्रीले स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णय लिएर निकै राम्रो सन्देश दिएको बताए । “प्रधानमन्त्रीको निर्णय मलाई निकै राम्रो लागेको छ”, उनले भने, “शिक्षण अस्पतालमा धेरै राम्रो सेवा छ, अन्य नेताले पनि यहीँ उपचार गराए हुन्छ ।”

प्रधामन्त्रीसँगै त्रिवि शिक्षण अस्पतालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलगायत उनको सचिवालयका सदस्य पनि पुगेको थियो । शिक्षण अस्पतालमा प्रधानमन्त्रीका शुभेच्छुकको पनि बाक्लो उपस्थिति थियो ।