समाचार

महिनौं दिनदेखी भारतको धार्चुलामा अलपत्र नेपाली मजदुरको आजदेखी उद्धार सुरु

१८ बैशाख काठमाडौं ।  आज देखी भारतको धार्चुलामा अलपत्र मजदुरहरुको उद्धार सुरु गरिएको छ । महिनौं दिनदेखि भारत पिथौरागढको धार्चुलास्थित क्वारेन्टाइनमा रहेका नेपाली मजदुरहरूको उद्धार विहिबार विहानदेखि शुरू गरिएको छ । लकडाउनपछि स्वादेश फिर्ता हुन नपाएका उनीहरूलाई विहानैदेखि उद्धार शुरू गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । बुधबार बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच भएको उच्चस्तरीय सहमतिपछि उद्धार गरिन लागेको हो ।

गत चैत १३ गतेदेखि भारत पिथौरागढका धार्चुलाका ५ क्वारेन्टाइनमा १ हजार बढी नेपाली एक महिनादेखि बसिरहेका छन् । उनीहरूलाई नेपाल ल्याउनकै लागि भन्दै बैतडी र बझाङका प्रतिनिधि ३ दिनदेखि दार्चुला पुगेका छन् । दार्चुलामा क्वारेन्टाइनको तयारी अवस्थामा राखिएका छन् । उद्धारपछि उनीहरूलाई सम्बन्धित स्थानीय तहमा पठाउन यातायात व्यवसायीलाई तयारी अवस्थामा राखिएको जनाइएको छ ।

धार्चुलामा रहेका नेपालीलाई २ वटा नाकाबाट ल्याईदैछ । धार्चुलामा १० जिल्लाका नागरिक बसेका छन् । बैतडी, बझांगका नागरिकलाई दत्तु नाका भएर प्रवेश गराइने छ भने दार्चुला लगायत अन्य जिल्लाकालाई खलंगा नाका भएर प्रवेश दिइने प्रजिअ पौडेलले बताए ।

उनीहरूलाई सीमा क्षेत्रमा चेकजाँच पछि प्रवेश दिइने, उनीहरूको नाम ठेगाना सम्पर्क नम्बर राख्ने र सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरी पठाउने रणनीति बनाइएको छ । बैतडी र बझांगस्थित सम्बन्धित स्थानीय तहका जनप्रतिनिधीको रहोबरमा उनीहरू व्यवस्थापन गरिने जनाइएको छ ।

स्वादेश फिर्ता हुन नपाएका उनीहरू धेरै दिनसम्म सीमा क्षेत्रमा अलपत्र परेका थिए । पछि उनीहरूलाई भारतकै क्वारेन्टाइनमा राखिएको थियो । यसैबीच दर्जनौं मजदुर जोखिम मोलेर भएपनि महाकाली नदी तरेर फर्किएका छन् ।