पु.समाचार

आजदेखि बजेट अधिवेशन सुरु हुँदैः सांसदको कोरोना रिपोर्ट अनिवार्य

२६ बैशाख काठमाडौं । संघीय संसदको नयाँ अधिवेशन आजदेखि सुरु हुँदैछ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज शुक्रबार अपरान्ह ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्नेछ । मन्त्रिपरिषद्को निर्णय अनुसार गत वैशाख २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले आजको लागि दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् ।

कोरोना भाइरसको महामारीबाट उत्पन्न त्रासका कारण यस पटक अधिवेशन केही ढिला प्रारम्भ भएको हो । तर, जेठ १५ गते बजेट पेश गर्नुपर्ने संवैधानिक प्रावधानका कारण अधिवेशन सुरु गर्नुपर्ने बाध्यता थियो । बजेटअघि नै सरकारको नीति तथा कार्यक्रम पनि पेश गर्नुपर्ने छ । साथै, प्रिबजेट छलफल पनि गर्नुपर्ने छ ।

संसद बैठकमा कोरोना संक्रमणको जोखिम न्युनीकरणको लागि संसद सचिवालयले विभिन्न उपाय अपनाएको छ । सांसदहरु बस्ने कुर्सीहरुबीच अन्तर राख्ने, मास्क प्रयोग अनिवार्य गर्ने, ज्वरो नाप्ने,एकअर्काले बोल्ने बेला माइकलाई स्यानिटाइज गर्ने, साबुन पानीले हात धुने लगायतका थुप्रै उपाय अपनाइएका छन् । यस्तै हरेक सांसदले बैठकमा प्रवेश गर्नपुर्व आफुलाई कोरोना नभएको रिपार्ट पेष गर्नुपर्ने छ ।

त्यस्तै, हिजै सांसदहरुमा कोरोना संक्रमण भएको वा नभएको निर्क्यौल गर्न स्वाब संकलन गरिएको छ । संसद भवनको लोत्से हलमा हिजो १० बजेदेखि २ बजेसम्म चलेको स्वाब संकलनका क्रममा १ सय ७९ जना प्रतिनिधिसभाका सदस्य, ३३ जना राष्ट्रियसभाका सदस्य तथा २ सय २९ जना कर्मचारी तथा मर्यादापालकको गरी ४ सय ४१ जनाको स्वाब संकलन गरिएको छ । हिजो छुटेका सांसदहरुको आज बिहान ८ बजेदेखि १० बजेसम्म स्वाब संकलन गरिने छ।