शिक्षा

सामाजिक दूरी कायम गरी टोलटोलमा कक्षा सञ्चालन

१६ असार, मुग्लिन ।  चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले टोल कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिका शिक्षा समितिको बैठकले असार २१ गतेदेखि विद्यार्थीका लागि टोलटोलमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । आवश्यक सुरक्षा सतर्कता र सामाजिक दूरी कायम गरी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिका शिक्षा समितिका संयोजक रहेका गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताए बन्दाबन्दीले गत चैत ११ गतेदेखि विद्यालय पठनपाठन पूर्णरुपमा प्रभावित भएको हुँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम टोलटोलमा सिकाइ सहजीकरण कार्य गर्न सम्पूर्ण विद्यालयलाई निर्देशन दिइएको अध्यक्ष गुरुङले बताए ।

शिक्षकहरुलाई १९ गतेभित्र आफू कार्यरत विद्यालयमा हाजिर हुन निर्देशन दिइएको पनि उनले बताए। उनका अनु्सार तत्काल गाउँपालिका भित्रका शिक्षकबाट पठनपाठन शुरु गरिनेछ । बाहिरी जिल्लाबाट आएका शिक्षकलाई १४ दिन क्वारेन्टिनमा राखिसकेपछि मात्र सहभागि गराइनेछ । गाउँपालिका शिक्षा अधिकृत दुर्गादेवी खड्काका अनुसार हाल गाउँपालिकामा ५१ सामुदायिक र चार संस्थागत विद्यालय छन् । सार्वजनिक र निजी दुवैमा टोल शिक्षा लागू हुनेछ ।