राजनीति

आजका लागि तय सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगीत

१७ असोज, काठमाडौं । नेकपाको सचिवालय बैठक स्थगित भएको छ । शनिबार दिउँसो ४ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक आइतबार ४ बजे बस्ने गरी स्थगित भएको सचिवालय स्रोतले जनाएको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको छलफलमा आज सचिवालय बैठक बोलाउने सहमति भएको थियो । पछिल्लो समय राजदूतलगायतका राजनीतिक नियुक्तिमा पार्टीभित्र विवाद आएपछि अध्यक्षद्वयबीच सचिवालय बैठकमा छलफल गर्ने सहमति भएको थियो ।

पार्टीभित्र मन्त्रिपरिषद पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवाद भैरहँदा सचिवालय बैठक बोलाइएको थियो । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले पार्टीमा छलफल नै नगरी मुख्यसचिव सहित तीन देशमा राजदूत नियुक्ति गरेको भन्दै नेकपाका शीर्ष नेताहरु असन्तुष्ट छन् ।

यसअघि स्थायी कमिटी निर्णय र सचिवालयको छलफल अनुसार राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड बनाउने विषयमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल चलिरहेकै बेला प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति सम्बन्धी महत्वपूर्ण निर्णय एकलौटी गरिएको भन्दै नेताहरु असन्तुष्ट भएका हुन् ।

सरकारले अस्ति बिहिबार शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गरेको थियो । यस्तै पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिका, निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र कपिलवस्तुका डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको लागि राजदूतमा सिफारिस गरेको छ ।