२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज मंगलबार सर्वदलीय बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेको हो । आज दिउँसो बालुवाटारमा बस्ने सर्वदलीय बैठकमा राजावादीहरुले पछिल्लो समय देशभर गरेका विभिन्न प्रदर्शनबारे चर्चा गरिने भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छ । समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीको आह्वानमा बैठक बोलाइएको सल्लाहकार थापाले बताएका छन् ।
राजतन्त्र पक्षधरको प्रदर्शनका विषयमा पनि छलफल हुने भएको छ । त्यस्तै, कोभिड १९ को महामारी र यसले पारिरहेको संकटबारे पनि छलफल हुने बताइएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति राजनीतिक दल एकताबद्ध रहेको सन्देश दिने उद्देश्यले यो बैठक बोलाइएको हो । प्रधानमन्त्री ओलीले दलबीच एकता र राष्ट्रिय सहमति कायम गराउन सर्वदलीय बैठक बोलाउँदै आएका छन् ।
नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरामा सीमा विवादका विषयमा छलफल गर्न वैशाख ३१ मा पनि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए । उक्त छलफलमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलबीच राष्ट्रिय सहमति जुटेको थियो ।





