पु.समाचार

दाहाल-नेपाल समुहको महासचिव बन्दै सुरेन्द्र पाण्डे, समुहको केन्द्रिय कमिटी बैठक १ बजे

९ पुष, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी टुक्रिएपछि अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउँदै छन। आज दिउँसो बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बस्न लागेको केन्द्रीय कमिटीको बैठकले पाण्डेलाई महासचिवमा चयन गर्न लागेको हो ।

आज बिहानै सिनामंगलमा बसेको शीर्ष नेताहरुको छलफलपछि नेता पाण्डेलाई महासचिव बनाउने तयारी भएको हो । दाहालपक्षधर नेकपाको सचिवालय बैठक अहिले पार्टी कार्यालय पेरिस डाँडामा बस्दैछ । एकीकृत नेकपाका महासचिव विष्णु पौडेल अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहमा बसेपछि दाहाल-नेपालले पाण्डेलाई आफ्नो समूहबाट छान्‍न लागेका हुन ।

नेकपा एमालेको नवौँ महाधिवेशनमा नेपाल प्यानलबाट महासचिवमा प्रतिस्पर्धा गरेका पाण्डे ओली प्यानलका ईश्‍वर पोखरेलसँग पराजित भएका थिए। नेकपाका वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेता सुरेन्द्र पाण्डे महासचिव हुने भएका हुन् ।

महासचिव पदका लागि भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, वर्षमान पुन, जनार्दन शर्मा, कृष्णबहादुर महरा लगायत नेता प्रतिस्पर्धामा छन् । तर दाहाल-नेपाल समूहले पाण्डेलाई महासचिव बनाउनेगरी प्रस्ताव अगाडि बढाएको हो । पार्टी सचिवालय र स्थायी कमिटीमा छलफलपछि केन्द्रीय कमिटीमा उक्त प्रस्ताव लगेर निर्णय गर्ने तयारी छ । त्यसका लागि बिहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह १ बजेका लागि सारिएको छ ।