पु.समाचार

राजाको निरंकुश शासन फालेका जनताले ओलीको निरंकुशता धेरै दिन टिक्न दिँदैनन्ः वर्षमान पुन

१७ पुष, काठमाडैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षका स्थायी समिति सदस्य वर्षमान पुन प्रधानमन्त्री ओलीप्रति आक्रोसित भएका छन् । प्रधामनत्ती ओली निरंकुश बनेको भन्दै राजा–महाराजाको निरंकुश टिक्न नदिएका जनताले अब ओलीको निरंकुशता धेरै दिन टिक्न नदिने दाबी गरेका छन् ।

ओलीले राज्य शक्तिको दुरुपयोग गर्न राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग आफू मातहत राखेर मुलुकमा निरंकुशता लाद्ने प्रयास गरिरहेको बताएका छन् ।
संविधानमा स्पष्ट रुपमा नेपाललाई समाजवाद उन्मुख मुलुक भनिए पनि ओलीको चरित्र र अभ्यास भने दलाल पुँजीपति रहेको उनको भनाइ थियो ।

नेपालको सम्पूर्ण अर्थ व्यवस्था सीमित मानिसको मुठ्ठीमा पार्ने गरी ओली अगाडि बढेको आरोप लगाउँदै नेता पुनले असंवैधानिक प्रतिनिधिसभा विघटनको जगमा निरंकुश सत्ता चलाउने ओलीको प्रयास कुनै हालतमा सफल हुन नदिने चेतावनी पनि दिएका छन् । प्रचण्ड–माधव नेपाल पक्षको लुम्बिनी प्रदेश कमिटी बैठकलाई बुटवलमा सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन् ।

गत ५ पुसको मन्त्रिपरिषद् बैठकमा ओलीले प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्दा आफूसहित केही मन्त्रीले प्रतिवाद गरेको प्रसंग उल्लेख गर्दै उनले मन्त्रिपरिषदबाट बहुमत सदस्यको भावना विपरीत जबर्जस्ती प्रतिनिधिसभा विघटन गराएको उल्लेख गरेका छन् ।

साथै उनले ओलीको असंवैधानिक कदममा राष्ट्रपतिले सहयोगी भूमिका खेलेर संविधानको संरक्षक र राष्ट्राध्यक्षको भूमिकाबाट च्युत भएको टिप्पणी गरेका छन् । नेता पुनले ओलीको असंवैधानिक अब सरकार बढीमा चार महिना टिक्ने पनि उनले दाबी गरेका छन् ।