राजनीति

घोषणा गरिएकै मितिमा हुन्छ, तपाईँहरु ढुक्क रहनुहोस्ः प्रधानमन्त्री ओली

१७ माघ, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिएकै मितिमा निर्वाचन हुने बताएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आज यहाँ आयोजित जनसभामा उनले घोषित निर्वाचन मिति तलमाथि नपर्ने बताए । कतिपयले निर्वाचन हुँदैन भनेर भ्रम फिजाएको बताउँदै उनले भने, “यो चुनावको घोषणा चुनाव गर्नका लागि होइन, अल्मल्याउनका लागि गरिएको हो भनेर भनेका छन्, तिनीहरु अल्मलिँदै गरुन् ।” उनले जोड दिँदै भने, “चुनाव हुन्छ, भनेकै मितिमा, तोकिएकै मितिमा, घोषणा गरिएकै मितिमा हुन्छ, तपाईँहरु ढुक्क रहनुहोस् ।”
अब कुनै गल्ती नगरीकन जनताको निम्ति काम गर्ने, देशका निम्ति काम गर्नेलाई छान्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, “चुनावमा साइनो सम्बन्ध देशभित्र भएका, देश र जनताको आदेश र हितमा काम गर्नेलाई छानेर पठाउनुपर्छ ।” नाभी विदेशमा गाडिएकाहरु र नाभी अन्तै जोडिएकालाई अब चुनावमा छान्न नहुने उनको भनाइ थियो ।
देशको, राष्ट्रियताको र स्वाधिनताको सही अर्थमा रक्षा आफू र आफ्नो पार्टीले गर्ने भन्दै उनले भने, “निरंकुश राजतन्त्र, पञ्चायती तानाशाही र कुनै पनि अवस्थामा घुँडा टेकिएन । नेल, हत्कडी लगाएर गोलघरमा थुन्दा घुँडा टेकिएन, अब घुँडा टेक्नुपर्ने अवस्था छैन । स्वाभिमानलाई माथि उठाइन्छ ।”
नयाँ युगमा नेपाल प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले अगाडि भने, “एउटा नयाँ युगको प्रारम्भ भएको छ, अनेक क्षेत्रमा नयाँ युगको प्रयोग गरेका छौँ, आत्मविश्वासका साथ देश विकास गर्ने महान् अभियानमा जुटेका छौँ ।”
माडीको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि गुरुयोजना बन्दै गरेको भन्दै उनले भने, “रामको भव्य प्रतिमूर्ति तयार भइसकेको छ, सीताको बनिरहेको छ, अब लक्ष्मण र हनुमानको पनि बन्छ ।” अर्को सालको रामनवीमा राम जन्मभूमि अयोध्यापुरीमा भव्य ढङ्गले प्राणप्रतिष्ठा गर्ने उनले बताए । अयोध्यापुरी अब विश्वका हिन्दूहरु, संस्कृतविद्हरु, पुरातत्वविद्हरु, सभ्यताविद्हरुको गन्तव्य स्थान हुने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, “यो पर्यटकीयस्थल बन्नेछ, धेरै तीर्थालुको गन्तव्य बन्नेछ ।”

नवलपरासीको दाउन्नेबाट मकवानपुरसम्मको चार हजार ७८८ वर्गकिलोमिटर क्षेत्रलाई समेटेर चितवन भ्यालीको रूपमा विकास गरिने उनले जानकारी दिए । यसका लागि गुरुयोजनासहित काम अघि बढ्ने उहाँको भनाइ छ । उनले निकुञ्जको संरक्षणसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्वलाई कम गर्ने पनि बताए ।

नेकपा नफुटेको भन्दै उनले केही मान्छे बाहिरिएको बताए । उनले भने, “पार्टी शुद्धीकरणको आवश्यकता थियो, अब पार्टी एकजुट भएर अघि बढ्छ ।” देशलाई अल्पविकसितबाट विकासशील राष्ट्रमा लैजाने बताउँदै उनले भने, “देशको विकास तीव्रगतिले अघि बढेको छ ।” विश्वका थोरै राष्ट्रले मात्रै शुरु गरेको कोभिड–१९ विरुद्धको खोप नेपालमा शुरु भइसकेको उनले बताए । अग्रपङ्क्तिमा रहेकाहरुलाई अहिले खोप लगाइएको बताउँदै उनले क्रमशः सन् २०२१ भित्र सबैलाई खोप लगाइसक्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “सम्पूर्ण जनतालाई खोप लगाइसकेर कोभिड–१९ लाई देशबाट भगाउँछौँ, बाँकी विश्वले पनि भगाउँछ भन्ने हामीलाई विश्वास छ ।”

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले संसद् विघटन संवैधानिक काम भएको बताए । उनले भने, “यो संवैधानिक हो भन्ने कुराको जवाफ तपाईँ जनताले दिएका छन्, फुटका विरुद्ध जनताले एकताको सन्देश दिएका छन् ।” उनले आफूहरु गुटको पक्षमा नभएर पार्टीको पक्षमा रहेको बताए । पार्टीले अहिले शुद्धीकरण अभियान अघि बढाएको भन्दै उहाँले पार्टीभित्र अवसरवाद, विकृतिविरुद्धको शुद्धीकरण भइरहेको बताए ।

आम नागरिक राष्ट्रिय एकताको पक्षमा भइरहँदा अवसरवादीहरु पार्टीबाट किनारा लागेको उनको भनाइ थियो । उनले ‘उनीहरुले देशमा अस्थिरता चाहन्छन्, तर हामी देशलाई स्थायित्व दिन चाहन्छौँ’ भने । उनले भने, “स्थायित्वबिना प्रगति सम्भव छैन, समाजवाद स्थापना गर्न सक्दैनौँ ।” पार्टी छाडेर गएकाहरुलाई आफ्ना गल्ती र कमजोरी स्वीकारेर पार्टीमा फर्किन आग्रह गर्दै गृहमन्त्री थापाले भने, “आउनुहोस् पार्टीमा फर्किनुहोस्, जनता एकता चाहन्छन्, विकास चाहन्छन् ।”

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले समृद्धिको यात्रालाई अघि बढाएको भन्दै भने, “यो सरकारले विकास मात्रै ग¥यो, लुटतन्त्र र भ्रष्टाचार गरेन, हामी कहिल्यै चुकेनौँ ।” ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षा पूरा गर्नका लागि प्रधानमन्त्री लागिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा शहरी विकासमन्त्री प्रभु साहले चितवनलाई समृद्धिको मोडेलको रूपमा विकास गर्ने बताए । चितवनको छुट्टै पहिचान रहेको बताउँदै उनले नेपालको समृद्धिको यात्रामा पनि यसलाई मोडेलको रूपमा अगाडि बढाउने बताए । उनले चितवनका नेता भनेर चिनिनेहरुले चितवनको छवि धमिल्याउन खोजेको भन्दै भने, “यहाँका जनताले त्यो गर्न दिने छैनन् ।” उहाँले चितवनको धर्तीबाट देश र दुनियाँलाई भ्रमित पार्ने कोसिस भएको भन्दै भने, “त्यस्तालाई तपाईँहरुले जवाफ दिनुपर्छ ।”

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान शुरु भइसकेको बताउँदै भने, “देश विकासका लागि ठूल्ठूला योजना शुरु गरिएको छ ।” चितवनको विकासका लागि सरकारले काम गरिरहेको बताउँदै उनले आज मात्रै पुल्चोक–गोन्द्राङ छ लेन सडक र सिटीहल शिलान्यास भएको बताए । उनले चितवनमा भरतपुर महानगरभित्र रिङरोड, चौबीसकोठी–गोलाघाट सहायक राजमार्ग, हुलाकी सडक र पुलहरू बन्दै गरेको बताए । देशमा प्रतिदिन दुई किलोमिटर नयाँ सडक बनिरहेको भन्दै उहाँले भन्नुभयो, “देशभर १० वटा सिक्नेचर पुल बन्न लागेको छ, त्यसमध्ये एउटा यही नारायणीमा बन्छ ।”

सो अवसरमा नेकपा वाग्मती प्रदेश कमिटी अध्यक्ष एवं पूर्वमन्त्री आनन्द पोखरेल, भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष एवं नेकपा केन्द्रीय सदस्य देवीप्रसाद ज्ञवाली, नेकपा प्रदेश कमिटी सदस्य प्रकाश खनाल शैलेस, नेकपा महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेलगायतले विद्यमान अन्योलता छिचोल्न निर्वाचनमै जानुपर्ने धारणा राखेका थिए ।