राजनीति

प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद् बैठक स्थगित

२० माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बोलाएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । भोली लागि बोलाइएको परिषद् बैठक स्थगित भएको स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले मंगलबार साँझ बस्ने गरी बैठक डाकेका थिए। एक दिन पर सारेको बैठक स्थगित गरिएको बताइएको छ ।

विविध विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ। यसअघि बालुवाटारमा बसेको परिषद‍ बैठकले संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता गरिदिएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । संवैधानिक परिषद‍्मा पहिला गणपूरक संख्याका लागि अध्यक्ष र अन्य चारजना उपस्थित हुनुपर्ने कानुनी प्रावधान थियो। तर ओलीले तत्काल कायम रहेका सदस्यको बहुमतबाट निर्णय हुनसक्ने प्रावधान राखेर अध्यादेश जारी गराएका थिए ।

अध्यादेशअनुसार अब संवैधानिक परिषदको बैठक बस्नका लागि गणपुरक संख्या तीनजना मात्रै भए पनि हुनेछ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाले बैठक बहिस्कार गरेपछि गत मंसिर ३० गते बहुमतकै आधारमा विभिन्न संवैधानिक आयोगमा नियुक्तिको सिफारिस गरिएको थियो ।

संसद विघटन भइसकेको अवस्थामा सिफारिस गरिएका पदाधिकारी तथा सदस्यको सुनुवाइ हुन नसक्ने भन्दै सभामुख सापकोटाले फाइल फिर्ता पठाइदिएका थिए । संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेका नियुक्तिको सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले आइतबार फिर्ता पठाइदिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोग लगायत संवैधानिक आयोगमा विवादास्पद रुपमा प्रधानमन्त्रीले गरेका नियुक्ति सापकोटाले फिर्ता पठाएका हुन् ।