राजनीति

भागीरथीका बलात्कारी र हत्यारालाई अविलम्ब पक्राउ गरी कारबाही गरः काँग्रेस

३० माघ, काठमाडौं । नेपाली काँग्रेसले बैतडीकी १७ बर्षीया बालीका भागीरथी भट्टका बलात्कारी र हत्यारालाई अनुसंधानपश्चात तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ । काँग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले एक बिज्ञप्ती प्रकाशितथ गर्दै बलात्कार र हत्याका हरेक घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउन माग गरेका छन् ।
उनले भनेका छन्, ‘बैतडी जिल्लाको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पिडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुःखद र गम्भीर रूपमा लिएको छ । अतः अनुसन्धान तिब्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासंगै देशभरका सबै यस्ता घटना विरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन नेपाली कांग्रेस प्रधानमन्त्री समक्ष माग गर्दछ ।’
प्रवक्ता शर्माले भनेका छन्, ‘शान्ति स्थापना र संविधान निर्माण पश्चात देशमा अमन चयन स्थापना हुनेछ र नागरिकको जीवन सुरक्षीत बन्नेछ भन्ने विश्वास वितेका बर्षहरुमा कारुणिक ढंगले खण्डित हुँदै आएको छ । अनेक प्रकृतिको हिंसासंगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही बर्ष यता डरलाग्दो ढंगले बढ्नु गम्भीर चिन्ताको बिषय बनेको छ । ‘विकसित मुलुकमा पनि यस्तै हुन्छ’ भन्ने जिम्मेवार तहको गैह्र जिम्मेवार जवाफले वर्तमान सरकारको उदासिनता प्रकट गरेको छ भने अपराधको मानसिकता निरुत्साहित गर्न कानूनी चेतावनीको भाषालाई कमजोर समेत बनाएको छ । निर्मला पन्त प्रकरणका दोषी अझै कहिँ खुला घुमिरहेका छन् भने भागरथी र अरु धेरै छोरीको अपराधमा संलग्नहरु कानूनको कठघराभन्दा बाहिरै छन् ।’
महिला उपर हिंसा र बलात्कार अनि हत्याका जघन्य अपराध बढेर जांदा राज्यले बिशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन सरकार समक्ष माग गर्दै नेपाली कांग्रेस यस्ता घटना विरुद्ध सिंगो समाजको सजगताका लागि अपील गरेको छ ।
काँग्रेसले भनेको छ, ‘यस्ता घटनामा न्यायका लागि नेपाली कांग्रेस सजगताका साथ कृयाशिल रहंदै आएको छ । यसक्रममा बैतडी घटनाको स्थलगत अध्ययन गरि लिखित प्रतिवेदन पेश गर्न एवं स्थानीयवासी र परिवारजनसंग भेट गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य रमेश लेखक आज सांझ बैतडी पुग्दै हुनुन्छ । जघन्य अपराधका घटनामा न्यायका लागि अनि घटना हुनै नदिन सम्पूर्ण सजगताका लागि नेपाली कांग्रेस सबै नेपाली दिदिबहिनी दाजुभाइमा हार्दिक अपील गर्दछ ।’