१ फागुन, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम् निबर्तमान साँसद डा. डिला संग्रौला पन्तले गत माघ २१ गते वैतडी जिल्लाको दोगडा केदार गाउंपालिका-७ चडेपानीकी १२ कक्षामा अध्ययनरत १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार पश्चात् जघन्य हत्या गरिएको घटनाले मानव जातीलाई नै स्तव्ध बनाएको बताएकी छन् ।
एनले एक बिज्ञप्ती निकाल्दै भनेकी छन्, ‘गत माघ २१ गते वैतडी जिल्लाको दोगडा केदार गाउंपालिका-७ चडेपानीकी १२ कक्षामा अध्ययनरत १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार पश्चात् जघन्य हत्या गरिएको घटनाले मानव जातीलाई नै स्तव्ध बनाएको छ । यस घटना लगायत यस्ता प्रकृतिका जघन्य घटना प्रति सरकार बेखवर जस्तै देखिन्छ । देशमा राजनैतिक संकट गहिरिदै जांदा समाजमा बलात्कार पश्चात् हत्याका घटनाक्रम बढदैजानुले देशमा शान्ति सुरक्षा र नागरिकको जनधनको सुरक्षा गर्ने सरकारको दायित्व उदाङ्गिएको छ । घटना घटेको यतिका दिन वितिसक्दा पनि दोषीलाई पक्राउ गर्न नसक्नुले सरकार प्रति गम्भिर प्रश्न उव्जिएको छ । निर्मला पन्त लगायतका बलात्कारका घटनालाई सरकारले आज सम्म पनि कानूनी दायरामा ल्याई न्याय दिन नसकेको वर्तमान अवस्थामा कतै सरकारले दोषीलाई संरक्षण गरिरहेको त छैन ? भनी आम नागरिकले आशंका व्यक्त गरिरहेका छन् ।’
डा संग्रौलाले थपेकी छन्, ‘कुनै पनि मानिस अन्यायमा पर्नु र उसले न्याय नपाउनु भनेको मानव सभ्यतालाई सुहाउने कुरो होईन । भलो मनले आफ्नो काम कर्तव्य र अधिकारको खोजी गर्दा नेपाली महिलाहरु गाउंघर देखि शहर सम्म के पढेलेखेका, के अनपढ, के गृहिणी, के काम काजी नारी सबै एकै प्रकारले बलात्कार हत्या हिंसाका शिकार बनेका छन् । यस्तो दुःखद घडीमा महिलाहरु जागरूक बनेर सम्बद्घ निकायको ढोका घचघच्याउंदै सरकार र समाजको लामो निन्द्रा तोड्न चाहन्छ ।’
एनले अपील गर्दै भनेकी छन्, ‘आजको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै हामी सम्पूर्ण राजनितिक कार्यकर्ता एवं अधिकारकर्मीहरु आन्दोलित भएका छौं । यस भागरथी भट्टको बलात्कार पछि हत्यामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि अनुसन्धानको दायरामा नल्याउन्जेल हाम्रो संघर्ष जारी रहने छ । यस घटनाका वारेमा प्रधानमन्त्रीबाट आम नागरिकको चासो र चिन्तालाई सम्बोधन गरि संवन्धित निकायलाई तुरुन्तै कडा भन्दा कडा कारवाहिकालागि निर्देशन गरियोस् । यदि तुरुन्तै दोषी पत्ता लगाउन न सक्ने हो भने अविलम्व गृहमन्त्रीले राजिनामा दिनु पर्दछ । यसका साथै सुदूर पश्चिम सरकारले तदारुकताका साथ उच्च स्तरीय छानविन समिति गठन गरि दोषी पत्ता लगाउने कार्यमा तुरुन्त कदम चाल्न जोडदार माग गर्दै चांडो भन्दा चांडो अनुशन्धान प्रकृयाले मूर्तरुपलिई अपराधिलाई न्यायको कठघरामा उभ्याउन र भागरथी भट्टको परिवारलाई न्याय दिलाउन सरकार लगायत सम्बद्घ सबै पक्षमा अनुरोध गर्दछौं । स्वर्गीय भागरथी भट्ट प्रति हार्दिक श्रद्घाञ्जली अर्पण गर्दै न्यायकालागि सबै संग हार्दिक अपील गर्दछौं ।’





