काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको विकासले सम्भव तुल्याएका थरिथरिका मञ्चको सही र मानवीय उपयोग गर्नुपर्नेमा दुरुपयोग भइरहेका अवस्थामा सञ्चारमाध्यमको अत्यावश्यक मुहान राष्ट्रिय समाचार समितिको औचित्य बढ्दै गएको बताएका छन् ।
मुलुकको आधिकारिक सूचना प्रणालीको मेरुदण्डका रुपमा क्रियाशील रासस स्थापनाको ५९ औँ वर्ष पूरा गरी ६० वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीले नेपाल सरकारका तर्फबाट राससको संस्थागत विकास तथा व्यावसायिकताको प्रवद्र्धनमा उचित सहयोग भइरहेको र भविष्यमा पनि रहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
“सञ्चार प्रविधि क्षेत्रमा तीव्र विकास भएसँगै नेपालको सञ्चार क्षेत्रमा पनि अभूतपूर्व विविधता देखा परेको यहाँहरु सबैलाई विदितै छ । सञ्चारको क्षितिज फराकिलो हुनाको साथसाथै विकृतिहरु पनि भित्रिएका छन् र यसले गर्दा हाम्रा सामु नयाँ नयाँ चुनौतिहरु उपस्थित भएका छन् । प्रविधिको विकासले सम्भव तुल्याएका थरीथरीका प्लेटफर्महरुको सही र मानवीय उपयोग गर्नुपर्नेमा प्रयोगकर्ताहरुबाट यसको दुरुपयोग भइरहेको तीतो सत्य पनि हामी भोगिरहेका छौंँ”, सन्देशमा भनिएको छ ।
हरेक दिन बिहानदेखि रातिसम्म राष्ट्रिय र अन्तरराष्ट्रिय समाचार, आलेख, तस्वीर आदि सामग्री सम्प्रेषण गरेर राससले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा श्रव्यदृष्य सेवा विस्तारसहित अझ प्रतिस्पर्धी, तथ्यपूर्ण, विश्वसनीय तथा राज्य र आमजनताप्रति जिम्मेवार, खोजपूर्ण समाचार सामग्रीको एकीकृत सेवा उपलब्ध गराउन राससलाई आग्रह गरेका छन् ।
जनताको अनवरत सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधानको प्राप्तिलाई संस्थागत गर्दै सरकारले मुलुकलाई विकास र समृद्धिको बाटामा आफूलाई अग्रसर गराइरहेको सन्दर्भमा सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुख नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण र आवश्यक रहेकामा उनले जोड दिएका छन् ।
विश्वव्यापी कोरोना महामारीका कारण उत्पन्न कठिनाइका बाबजुद राष्ट्रको समृद्धिको अभियानलाई अघि बढाइरहेको तथो आर्थिक –सामाजिक विकासलगायत अनेकौँ क्षेत्रमा सकारात्मक सुधारका सूचक हासिल भएको जनाउँदै प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानलाई उँचो बनाउँदै छिमेक र अन्तरराष्ट्रिय सम्बन्धमा सुधारसहित विकास र सुशासन क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएकोे, कोभिडविरुद्ध खोपको विकाससँगै नागरिकको स्वास्थ्य सुरक्षाका लागि नेपालले पनि खोप कार्यक्रम अघि सारेको तथा मुलुकले आर्थिक र सामाजिक गतिविधिमा आफूलाई पुनः क्रियाशील बनाउन थालेको बताए ।
“स्थिर सरकारमार्फत मुलुकको समृद्धि र जनताको सुखका लागि विकासका काम चौतर्फी रुपमा अघि बढिरहेका बेला त्यसमाथि व्यवधान पैदा गर्ने दुष्प्रयासहरु यसबीच नभएका होइनन् । भर्खरै बसेको विकासको जगलाई भत्काएर मुलुकलाई अस्थिरतामा लैजाने त्यस्तो दुष्प्रयासलाई अब सार्वभौमसत्ता सम्पन्न जनताको निर्णयद्वारा नै निस्तेज पारिनुपर्दछ”, सन्देशमा भनिएको छ ।
आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीमा सरकार र सम्बद्ध निकाय जुटेका स्थितिमा सञ्चारमाध्यमले आफ्नो स्वतन्त्र र निष्पक्ष भूमिका अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिँदै प्रधानमन्त्री ओलीले यस क्रममा राससले अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् । हीरक वर्ष प्रवेशका अवसरमा रासस परिवारलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यसको सफलताको कामनाका साथ व्यवस्थापक, कार्यरत कर्मचारी, पत्रकार, स्वदेश र विदेशस्थित समाचारदाता र सेवाग्राही सबैमा शुभकामना व्यक्त गरेका छन् ।
रासस हीरक वर्ष प्रवेशका अवसरमा प्रधानमन्त्रीको शुभकामना सन्देशको पूर्णपाठ
मुलुकको आधिकारिक सूचना प्रणालीको मेरुदण्डका रुपमा क्रियाशील राष्ट्रिय समाचार समिति ९रासस० स्थापनाको ५९ औँ वर्ष पूरा गरी ६० वर्षमा प्रवेश गरेको सुखद् अवसरमा म यसका व्यवस्थापक, कार्यरत कर्मचारी, पत्रकार, स्वदेश र विदेशस्थित समाचारदाता र सेवाग्राही सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सञ्चार प्रविधि क्षेत्रमा तीव्र विकास भएसँगै नेपालको सञ्चार क्षेत्रमा पनि अभूतपूर्व विविधता देखा परेको यहाँहरु सबैलाई विदितै छ । सञ्चारको क्षितिज फराकिलो हुनाको साथसाथै विकृतिहरु पनि भित्रिएका छन् र यसले गर्दा हाम्रा सामु नयाँ नयाँ चुनौतिहरु उपस्थित भएका छन् ।
प्रविधिको विकासले सम्भव तुल्याएका थरीथरीका प्लेटफर्महरुको सही र मानवीय उपयोग गर्नुपर्नेमा प्रयोगकर्ताहरुबाट यसको दुरुपयोग भइरहेको तितो सत्य पनि हामी भोगिरहेका छौं । यस्तो अवस्थामा सञ्चार माध्यमको अत्यावश्यक मुहानका रुपमा स्थापित समाचार समितिको आवश्यकता र औचित्य बढ्दै जानु स्वाभाविक हुन्छ । हरेक दिन बिहानदेखि रातिसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, आलेख, तस्वीर आदि सामग्री सम्प्रेषण गरेर राससले खेल्दै आएको भूमिकाको म प्रशंसा गर्दछु र आगामी दिनमा भिडियो सेवा विस्तारसहित अझ प्रतिस्पर्धी, तथ्यपूर्ण, विश्वसनीय र राज्य र आमजनताप्रति जिम्मेवार, खोजपूर्ण समाचार सामग्रीहरुको एकीकृत सेवा उपलब्ध गराउन म आग्रह गर्दछु ।
जनताको अनवरत सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधानको प्राप्तिलाई संस्थागत गर्दै सरकारले मुलुकलाई विकास र समृद्धिको बाटोमा आफूलाई अग्रसर गराइरहेको छ । वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुख नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण र आवश्यक हुन्छ । विश्वव्यापी कोरोना महामारीका कारण उत्पन्न कठिनाइका बाबजुद राष्ट्रको समृद्धिको यस अभियानलाई हामीले अघि बढाइरहेका छौँ । यस अभियानकै कारण नेपालले आर्थिक सामाजिक विकास लगायत अनेकौँ क्षेत्रमा सकारात्मक सुधारका सूचकहरु हासिल गरेको छ । राष्ट्रिय स्वाभिमानलाई उँचो बनाउँदै छिमेक र अन्तर्राष्ट्रिय सम्बन्धमा सुधारसहित विकास र सुशासन क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ । कोभिड विरुद्ध खोपको विकाससँगै नागरिकको स्वास्थ्य सुरक्षाका लागि हामीले पनि खोप कार्यक्रम अघि सारेका छौँ । मुलुकले आर्थिक र सामाजिक गतिविधिमा आफूलाई पुनः क्रियाशील बनाउन थालेको छ ।
स्थिर सरकारमार्फत मुलुकको समृद्धि र जनताको सुखका लागि विकासका काम चौतर्फी रुपमा अघि बढिरहेका बेला त्यसमाथि व्यवधान पैदा गर्ने दुष्प्रयासहरु यसबीच नभएका होइनन् । भर्खरै बसेको विकासको जगलाई भत्काएर मुलुकलाई अस्थिरतामा लैजाने त्यस्तो दुष्प्रयासलाई अब सार्वभौमसत्ता सम्पन्न जनताको निर्णयद्वारा नै निस्तेज पारिनु पर्दछ । प्रतिनिधिसभा निर्वाचनका लागि आगामी वैशाख १७ र २७ गते निर्वाचन हुने गरी मिति तोकिएको छ । निर्वाचनको तयारीमा सरकार र सम्बद्ध निकाय जुटेको यस स्थितिमा सञ्चारमाध्यमले आफ्नो स्वतन्त्र र निष्पक्ष भूमिका अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ । यस क्रममा राससले अग्रणी भूमिका निर्वाह गर्ने छ भन्ने विश्वास गरेको छु । नेपाल सरकारका तर्फबाट राससको संस्थागत विकास तथा व्यावसायिकताको प्रवद्र्धनमा उचित सहयोग भइरहेको छ र भविष्यमा पनि रहने नै छ । हीरक वर्ष प्रवेशको यस सुखद अवसरमा रासस परिवारलाई पुनः हार्दिक शुभकामना व्यक्त गर्दै यसको सफलताको कामना गर्दछु ।





