७ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन विरुद्धको आन्दोलनमा फागुन ७ को मितिले बिशेष उर्जा सबैलाई प्रदान गर्ने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
७० बर्ष अघि २००७ को क्रान्ति २६ देखि प्रारम्भ ऐतिहासिक जन-क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको उनको धारणा छ । साथै सभापति देउवाले ऐतिहासिक त्यो घडी संभव तुल्याउने सहिदहरु एवं जननायक वीपी कोइराला लगायत अग्रज नेतृत्वप्रति उच्च श्रद्धा र सम्मान ब्यक्त गरेका छन् ।
उनले फागुन ७ गते नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा म समस्त नेपाली दिदिबहिनी दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । राजनैतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रसस्त गरेको थियो ।
मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश गर्यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्यो । समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातंन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२-६३ को आन्दोलन मार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्तिनै हो ।





