कर्णाली प्रदेश

तेस्रो राष्ट्रिय घरवास कार्यशाला आजदेखि शुरु

२८ फागुन, कर्णाली / ‘प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण होमस्टेको अभियान’ भन्ने नाराका साथ आजदेखि शुरु हुने तेस्रो राष्ट्रिय कार्यशाला गोष्ठीका लागि मुलुकभरका होमस्टे घरबास सञ्चालकहरू सुर्खेतमा भेला भएका छन् । कोभिड–१९ पछिको ग्रामीण पर्यटन र घरबासको अवस्थाबारे समीक्षा गर्ने उद्देश्यले वीरेन्द्रनगरको थारू घरबासमा शुरु हुने गोष्ठी तीन दिनसम्म चल्नेछ । कार्यशालामा सहभागी हुन देशभरबाट २०० बढी घरबास सञ्चालक यहाँ आइपुगेका छन् ।
होमस्टे एशोसिएशन नेपाल कर्णाली प्रदेशका अध्यक्ष कृष्णबहादुर थापाले कार्यशालाको पहिलो दिन आज सुर्खेतका घरबास र पर्यटकीय क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको बताए । उनका अनुसार शनिबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालद्वारा गोष्ठीको उद्घाटन, कार्यपत्र प्रस्तुतीकरण तथा छलफल, आइतबार एशोसिएशनको केन्द्रीय कमिटीको बैठक र गोष्ठीको निचोडबारे पत्रकार सम्मेलनको कार्यक्रम छ ।
गोष्ठीमा होमस्टे एशोसिएसनका तर्फबाट पशुपति न्यौपानेले घरबासको अवसर तथा चुनौती, रामचन्द्र सेढाईँले कर्णाली प्रदेशमा घरबास, दीपकराज जोशीले कोभिडपछिको घरबासमा स्वच्छता, डा आलोक प्रसाईँले नेपालमा घरबासको नीतिगत अवस्था र राजेन्द्रप्रसाद त्रिपाठीले घरबास तालिम, विकास तथा बजारीकरणका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यपत्रमाथि घरबास सञ्चालकका साथै तारा गाउँ विकास समिति, नेपाल पर्यटन बोर्डलगायत सङ्घसंस्थाका प्रतिनिधिले टिप्पणी गर्नेछन् ।
घरबाससम्बन्धी नीति निर्माणका साथै प्रदेशस्तरीय कार्यविधि निर्माणका लागि पहल गर्ने, अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको घरबासलाई परिचित गराउने, घरबास दर्ता, सञ्चालन एवं निरीक्षण गर्ने कार्यलाई समयसापेक्ष विकास गर्न र कोभिड–१९ पछिको पर्यटन क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताइएको छ ।