समाचार

सामाजिक सेवा र खेलकूदमा नेता

२ चैत, भक्तपुर / सामाजिक सेवा र खेलकूदको विकास गर्ने लक्ष्यका साथ नेपाली कांग्रेसका एक नेताले तीन करोड खर्चिएर व्यवसाय शुरु गरेका छन् ।
लामो समय खेलकूदसँगै राजनीतिमा सक्रिय भभएका मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा नेपाली कांग्रेसका युवानेता एवं खेलाडी अष्ट कँवेले क्लब मध्यपुरमार्फत फिट्नेस सेन्टर, स्नुकर हाउस एवं बर्गर हाउस सञ्चालनमा ल्याएका छन् । तीस जना युवालाई प्रत्यक्ष रोजगारी दिँदै १०० जना क्षमताको फिट्नेस सेन्टर एवं स्नुकर हाउस उहाँले सञ्चालनमा ल्याएका हुन् ।
राजनीति गर्ने व्यक्तिले आफैँ व्यवसाय शुरु गर्न सके कसैसँग माग्नु नपर्ने जनाउँदै उनले नेपालमा स्नुकर र फिट्नेसलाई व्यावसायिक खेलका रुपमा विकास गर्ने उद्देश्यले सेन्टर सञ्चालनमा ल्याएको बताए ।
नेता कँवेले भने, “देश विदेशमा प्रतिस्पर्धा गर्दै पदक जित्नसक्ने गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ‘फिट्नेस, बडी बिल्डिङ, एरोबिक्स, जुम्बा, स्टिम, सावना, स्नुकर र द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन’ सञ्चालनमा ल्याएको हुँ, यसले खेलकूद र व्यवसायलाई सँगै लैजान सकिन्छ भन्ने लागेको छ ।” उनले फिट्नेस, बडी बिल्डिङ, एरोबिक्स, स्नुकरजस्ता खेलको हरेक वर्ष प्रतियोगितात्मक प्रतिस्पर्धा गराउने बताए । उनले यसबाट हुने आम्दानीको २० प्रतिशत रकम सामाजिक सेवा र खेलकूदको विकासमा खर्च गर्ने घोषणा गर्दै आफू रहेको मध्यपुर युथ एसोसिएशनले गर्ने हरेक खेलकूद प्रतियोगितामा पुरस्कारका लागिसमेत यहाँबाट भएको आम्दानीबाट खर्च गर्ने घोषणा गरे ।