राजनीति

प्रतिनिधिसभा बैठक आज बस्दैः कांग्रेस नेता जोशीको निधनमा शोक प्रस्ताव पेश हुने

१८ चैत्र, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे संघीय संसद भवन बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् ।

आजको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ । यस्तै संविधानसभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा पनि शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

यस्तै प्रधानन्त्री केपी शर्मा ओलीले विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने सम्भावित कार्यसूची छ । ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६-२०७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७६-२०७७ को वार्षिक प्रतिवेदन प्रधानमन्त्रीले पेश गर्ने कार्यसूची छ ।

यस्तै विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०७७ पेश गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेश गर्ने कार्यसूची छ ।