११ जेठ, काठमाडौं । योजना आयोगका पूर्व उपाध्यक्ष डा शंकर शर्मा अध्यादेशबाट बजेट आएपनि, त्यो बजेटले संसद आएपछि बन्ने जननिर्वाचित सरकारलाई पुरक बजेट ल्याउन ‘स्पेस’ राखिदिनु पर्ने बताउँछन् ।
यो सरकारले संसदबाट विश्वासको मत नपाउने घोषणा गरेर देशलाई मध्यावधि चुनावमा लगेको भन्दै अस्थायी बनेको सरकारले नयाँ कार्यक्रम राखेर बजेट ल्याए, त्यो अनैतिक हुने बताए ।
‘यो कामचलाउ सरकार हो, यसले कामचलाउ बजेट ल्याउनु नैतिक हुन्छ,’ उनी भन्छन्, ‘पुराना कार्यक्रमलाई निरन्तरता दिनुपर्छ, तर, आगामी सरकारलाई भार थप्ने खालका कार्यक्रम राख्नुहुन्न, करको दर चलाउनुहुन्न ।’
उनले संसद आएपछि बन्ने नयाँ सरकारले पुरक बजेट ल्याएर आफ्ना नीतिअनुसारको कार्यक्रम ल्याउनुपर्ने भएकाले वर्तमान सरकारले अध्यादशेबाट ल्याउने बजेटको अंक गत वर्षकोभन्दा बढ्न नहुने बताए ।
‘चुनावी सरकारले ल्याउने बजेटले तत्कालीन आवश्यकतालाई हेर्ने हो, दीर्घिकालीन प्रभाव राख्ने कार्यक्रम संसदबाट बन्ने सरकारले नै बनाउँछ,’ शर्मा भन्छन्, ‘यो सरकारले स्वरुपमा पूर्ण बजेट ल्याए पनि पुरक बजेटको लागि ठाउँ छोड्नु वाञ्छनीय हुन्छ ।’





