१५ जेठ, काठमाडौं । निषेधाज्ञा अवधिभर दुई सरकारी संस्थानबाट खाद्य पदार्थ खरीद गर्दा छुट पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधीभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाद्य पदार्थ खरीद गर्दा बीस प्रतिशतसम्म छुट पाइने बताएका हुन्।
दुई कम्पनीले बिक्री गर्दै आएको चामल, चिनी, नुन, तेल, तथा खाना पकाउने ग्यास खरिद गर्दा उक्त छुट पाइनेछ । खाद्य कम्पनीको अनलाइन होम डेलिभरी तथा साल्ट ट्रेडिङ कर्पोरेशनको मोबाइल भ्यान तथा बिक्री काउन्टरबाट खाद्य पदार्थको खरिद गर्र्दा उक्त छुट पाइनेछ ।
काठमाडौँ उपत्यकाका तीन जिल्लामा शुक्रबारदेखि कडाइ गरिएको निषेधाज्ञाको समयमा दुई कम्पनीले अनलाइन तथा मोबाइल म्यानमार्फत निशुल्क रुपमा खाद्य पदार्थको होम डेलिभरी गर्न अनुमति दिइएको छ ।
कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको भन्दै निश्चित अवधीलाई किराना पसल सञ्चालन गर्दा जोखिम बढेको भन्दै आगामी जेठ २० गतेसम्म उपत्यकाभित्र सञ्चालित किराना तथा डिपार्टमेन्टल स्टोरहरु पूर्णरुपमा बन्द गरिएको छ ।
सरकारले तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा अनुदान पाउने भएका छन् । अर्थमन्त्री पौडेलका अनुसार उक्त सामग्री किसानले नजिकको बजारसम्म ढुवानी गर्दा लाग्ने भाडामा २५ प्रतिशत अनुदान सरकारले दिनेछ ।





