धनगढी । निषेधाज्ञाको समयमा घरपरिवारका कसैसँग संवाद नै नगरी लामो समय बन्द कोठामा इन्टरनेट गेममा बालबालिका भुलिरहँदा अभिभावकलाई चिन्ता हुन थालेको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण प्रशासनले निषेधाज्ञा जारी गरेका कारण घरमै बसिरहँदा बालबालिकामा इन्टरनेट गेमको लत बढ्दै गएपछि उनीहरू एकान्तमा बस्न मन पराउने तथा अलग्गै कोठामा झ्याल ढोका लगाएर बन्द कोठामा घण्टौँसम्म मोबाइल गेममा झुण्डिरहँदा अभिभावकहरूमा चिन्ता बढ्दै गएको हो ।
अध्ययन गर्न काठमाडौँ जानुभएका धनगढीका १४ वर्षीय एक किशोर आजभोलि कोरोना सङ्क्रमणका कारण आफ्नो घर धनगढी आएका छन् । पहिलापहिला काठमाडौँबाट घर आउँदा परिवारका सबै सदस्यसँग समय व्यतीत गर्न रुचाउने उनको व्यवहारमा आजभोलि आएको परिवर्तन देखेर परिवारका सदस्यहरू चिन्तित भएका छन् ।
सामान्य समयमा आफ्नो कोठा र घरबाहिर धेरै समय बिताउने किशोर आजभोलि घण्टौँसम्म बन्द कोठामा खानेकुराको पर्वाह नगरी इन्टरनेटमा झुम्मिन थालेपछि परिवारमा चिन्ता थपिएको हो । “पहिला पहिला काठमाडौँबाट घर आउँदा साथीभाइ, अभिभावक तथा आफन्तहरुसँग बढी समय रमाउँथ्यो, एक्लै बस्न कत्ति पनि रुचाउँदैन थियो तर यसपालि के पो हो त्यो ‘फ्री फायर गेम’ खेल्छ, रातदिन कसैसँग बोल्दैन, केही खाँदैन, त्यसैले चिन्ता लाग्ने गरेको छ”, ती किशोरका बुबाले भने ।
नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणबाट बच्न सङ्घर्ष गरिरहनुभएका कैलालीको घोडाघोडीका हरिराम विकलाई यो निषेधाज्ञाको समयमा कोरोनाभन्दा पनि आफ्नी १५ वर्षीय छोरीले दिनरात एकोहोरिएर खेलिरहने इन्टरनेट गेमका कारण छोरीको मानसिक अवस्था केही होला कि भन्ने डरले सताएको छ । हप्काउँदा वा कुटपिट गर्दा केही बालबालिकाले आफ्नो ज्यान जोखिममा पारेको सुन्नुभएका हरिराम छोरीलाई हप्काउन वा तर्साउन आफैँ डराउने गरेको बताउछन् ।





