टीकापुर । कैलालीकी ४० वर्षीय एक महिलाका श्रीमान्को कोरोना सङ्क्रमणका कारण मृत्यु भयो । यसअघि तीन सन्तान र पुनः गर्भवती भएकी ती महिलालाई श्रीमान् बितेपछि दिउँसै रात प¥यो । लामो समय श्रीमान्को स्याहारमा खट्नुभएकी उनका श्रीमान्को श्वासप्रश्वासमा समस्या आई अस्पतालमा ज्यान गएपछि उनी अर्धचेत भयो । “श्रीमान्को शव सेवाले लगेर अन्त्येष्टि ग¥यो, हामी हिन्दू धर्मानुसार काजक्रियामा बस्यौँ”, उनले भनिन् , “केही दिनमा स्थानीय तहले हाम्रो कोरोना परीक्षणका लागि स्वाब लियो । मलगायत घरमा तीन जना सङ्क्रमित देखियौँ ।”
गर्भवती उनलाई निकै तनाव भयो । एकातिर श्रीमान् रहेनन्, अर्कोतर्फ आफू गर्भवती । गर्भावस्थामा अनावश्यक औषधि सेवन गर्न हुँदैन भन्ने सुनेकी उनलाई अब आफू पनि मरेमा तीन सन्तानको बिचल्ली होला भन्ने पीरले सतायो । “श्रीमानको क्रियामा बस्दा खानपिनमा पनि ध्यान दिइएन, खान मन पनि रहेन, रातदिन पीडा र त्रासले सतायो”, उनले भने, “यस्तो बेलामा छिमेकी र आफन्त आउन पनि डराउने रहेछन्, आफन्तको काखमा शिर राखेर पीडा सकिने गरी रुन पनि पाइएन ।”
उनले छोराछोरीको मुख हेर्दै पीडा लुकाएर बसेको बताइन । “मैले बाँच्नुपर्छ भन्ने सोचेँ, मेरो वरिपरि रहेका र गर्भमा रहेको बच्चाका लागि हिम्मत गरेँ । धन्न आज हामी ठीक छौँ”, उनले भनिन ।
कैलालीको टीकापुरमा एक युवकलाई कोरोना सङ्क्रमण भयो । युवक बिरामी भएपछि आमाले युवकलाई लिएर नेपालगञ्ज गइन । छोराको सेवा गर्दागर्दै आमा पनि सङ्क्रमित भए । छोराको उपचारका लागि गएकी आमाको मृत्यु भयो । आमाको मृत्यु भएको केही दिनमा छोराको पनि ज्यान गयो । दवबै आमाछोरा नरहेपछि परिवारमा बिचल्ली छाएको छ । “टीकापुरमा व्यवसाय गर्ने हाम्रोे परिवारमा बिचल्ली आएको छ । म पनि सङ्क्रमित छु”, मृतककी छोरीले भने , “हाम्रो परिवारमा व्यापार गरेर घर चलाउने मानिस पनि रहेनन्, घरमा खानाकै समस्या छ । हामीलाई जस्तो विपत्ति कसैलाई नआओस् ।”





