महोत्तरी । कोभिड–१९ महाव्याधिले घरमै जकड्याएर राखेका बेला महोत्तरीको बर्दिबास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका मुसहरले धुर्मुस–सुन्तलीको साथ पाएका छन् । महाव्याधि छल्न जिल्लामा जारी निषेधाज्ञाबीच कतै काममा निस्कन नपाएर जकडिएका मुसहरलाई धुर्मुस सुन्तली फाउण्डेशनले खाद्यान्न राहत पु¥याएर दुःखमा साथ दिएको हो । शनिबार साँझ फाउण्डेशनका अध्यक्ष हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस)ले ७० परिवार मुसहरलाई तत्कालको राहतका लागि खाद्यान्न वितरण गरे ।
बस्तीका ७० परिवारले चामल, दाल, नुन, तेलसहित पुगनपुग एक महिना चल्ने सामग्री पाएका छन् । “घरघरै ३० किलो चामलको एक÷एक बोरा पाएका छौँ”, बस्तीकी आशा सादाले भनिन् , “त्यसैअनुसार दाल, खानेतेल, नुन र चिउरा, दालमोठ र बिस्कुट पनि पोकामा रहेछ, अब खानाबिना मरिँदैन ।” धुर्मु र सुन्तली (हास्य कलाकार कुञ्जना घिमिरे) त आफ्ना लागि देउताजस्तै भएका बस्तीका मुसहर बताउँछन् । अहिले महाव्याधिका बेला घरमा जकडिएर बस्नुपरेका बेला दुःखका समयमा धुर्मुस आएकी बस्तीकी मनिता सादा बताउछिन् ।
पराले झुप्रामा दुःखकष्टले जीवन धानेका यस बस्तीका ५० परिवार मुसहर र अन्य समुदायका दुई परिवारले विसं २०७४ को नयाँ वर्षका दिन (वैशाख १ गते) खानेपानी धारा, बिजुली र शौचालय सुविधासहितको पक्कीघर धुर्मुस–सुन्तली फाउण्डेशनबाट पाएका थिए । त्यतिखेर ५० घरपरिवार रहेका मुसहर अहिले छुट्टिँदै गएर ७० परिवार बनेका छन् । फाउण्डेशनले निर्माण गरेको बस्तीभित्र दृश्यावलोकन स्तम्भ, बालउद्यान र मुसहरका कुलदेवता दिनाभद्रीको मन्दिरसहित बनेको छ ।
पहिलोपटक विसं २०७२ को हिउँदमा सरसफाइ दूत बनेर बर्दिबास पुग्नुभएका हास्य कलाकार धुर्मुस–सुन्तलीले पराले झुप्राको मुसहर बस्ती गरेका थिए । पहिलो आगमनमै मुसहरसँग आत्मीय लगाव बढेपछि पटकपटक बस्ती पुगेर फाउण्डेशनले मुसहरमा सरसफाइ, शिक्षा र स्वास्थ्यबारे सचेतना बढाएको थियो ।
बर्दिबासका मुसहरको गरिबी, निर्दोषपन र अत्यन्त पछौटेपन देखेर द्रवित हुनुभएका धुर्मुस–सुन्तली दम्पतीले एकीकृत नमूना बस्ती बनाएर पक्की घरमा यिनीहरुलाई राख्ने सङ्कल्प गरे । यसैअनुसार विसं २०७३ माघमा निर्माण शुरु गरेर ९० दिनभित्रै मुसहरले पक्की घर पाएका थिए ।





