चितवन । सरकारले जारी गरेको अध्यादेशले आफूहरुको आत्मबल बढाएको यहाँका स्वास्थ्यकर्मीले प्रतिक्रिया दिएका छन् । अध्यादेशले भौतिक आक्रमणलाई निरुत्साहित गरेको र काम गर्ने वातावरण बनेको उनीहरुको भनाइ छ ।
नेपाल नर्सिङ सङ्घ चितवनका सचिव विष्णुमाया अधिकारी अध्यादेश पूर्णरूपमा कार्यान्वयनमा आउनेमा विश्वस्त रहँदै आफूहरुको आत्मबल बढेको बताउछिन् । स्वास्थ्यकर्मीहरुले पनि आफू कर्तव्यबाट कत्ति पनि विचलित हुन नहुने भन्दै उनले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताइन । उनले भनिन् , “यो अध्यादेशले हामीलाई ऊर्जा थपेको छ ।” स्वास्थ्यकर्मीहरुमाथि जिम्मेवारी थपिएको पनि उनले बताइन । विगतमा भएका घटनामा कतिपयमा स्वास्थ्यकर्मीहरु पनि दोषी भएको भन्दै उनले यस्ता घटनाप्रति सचेत हुनुपर्ने धारणा राखिन् ।
चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा. लोकबहादुर सेढाईंले अध्यादेशलाई ऐनमा ल्याएर पूर्णरूपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताए । उनले भने, “एउटा खुट्किलो उक्लिएको छ, यसलाई ऐनमा ल्याउनुपर्छ ।” स्वास्थ्यकर्मी र संस्थाहरु सुरक्षित हुने भन्दै उहाँले काम गर्न सबैमा आत्मबल बढाएको बताए ।
नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा.अनिलविक्रम कार्कीले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने भौतिक आक्रमणका दोषीलाई प्रमुख जिल्ला अधिकारीले धरौटीमा छाड्ने गरेकामा यो अध्यादेशसँग अदालतबाट सजाय दिलाइने अवस्थाको सिर्जना भएको बताए ।





