समाचार

सबै वकिललाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन डिएलएको माग

काठमाडौँ । महामारीका बेलामा पनि कानून व्यवसायीहरुले संविधान र कानूनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएको भन्दै कानून व्यवसायीहरुलाई खोप पाउने अग्रसूचीमा राख्न डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए) ले माग गरेको छ । कानून व्यवसायी तथा पूर्वकानून मन्त्रीसमेत रहेका नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ्ङ्गलाई बधाई तथा ज्ञापन पत्र दिँदै डिएलएले कानून व्यवसायीहरुलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको हो ।

डिएलएका महासचिव लक्ष्मीदेवी दाहाल रावलको नेतृत्वमा मन्त्रालयमा गएको टोलीले निषेधाज्ञा तथा लकडाउनको बेलामा पनि अदालत जानुपर्ने भएकाले कानून व्यवसायीहरुलाई सङ्क्रमणको खतरा बढिरहेकोतर्फ मन्त्री तामाङको ध्यानाकर्षण गराएको थियो ।

गत फागुन २३ देखि चैत ३ गतेसम्म सञ्चालित पहिलो खोप अभियानमा करिब ७५० कानून व्यवसायीले पहिलो खोप लगाउने मौका पाए पनि दोस्रो खोप लगाउनुपर्ने म्याद सकिँदै लाग्दासमेत दोस्रो खोप लगाउन नपाएको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा भनिएको छ, “विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार पहिलो खोप लगाएको आठदेखि १२ हप्ताभित्र दोस्रो खोप लगाइसक्नु पर्ने भएकोले पहिलो खोप लगाएको समयावधि यही २०७८ साल जेठ १५ गते समाप्त हुने हुँदा यथाशीघ्र दोस्रो खोप उपलब्ध गराउन आग्रह गर्दछौँ ।”