सूचना प्रविधि

कर्मचारीले तार काटेर अबरोध पुर्याएको इन्टरनेट सेवा प्रदायक संघले लगायो आरोप

३ भदौ, काठमाडौं । बाग्मती प्रदेशको भरतपुरमा नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका केही कर्मचारीहरुले अति आवश्यक इन्टरनेट सेवा प्रवाह गर्न प्रयोग भएका इन्टरनेट सेवा प्रदायकहरुका तार (फाइबर) सुनियोजित रुपमा काट्ने काम गरी दूरसञ्चार उपकरणहरुमा समेत क्षति पुर्याएर दूरसञ्चार उपकरणहरुलाई नियन्त्रणमा लीई इन्टरनेट सेवा नै अवरुद्ध गराएको इन्टरनेट सेवा प्रदायक संघले बताएको छ ।
पोल भाडादर बारे उच्च निकाय (उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालय) संग छलफल भईरहेको अवस्थामा निन्दनीय कार्य भएको उत्पादक संघले ठहर गरेको छ । साथै इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीहरुलाई धम्कीपूर्ण भाषा प्रयोग गरेर इन्टरनेट सेवा प्रवाह गर्ने तार हटाउन समेत भनिएकाले हामी उक्त्त घटनाको गृह मन्त्रालय, जिल्ला प्रसाशन कार्यालय भरतपुर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसंचार प्राधिकरण, उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय र सम्बन्धित निकायहरुको ध्यानाकर्षण समेत गराएको छ।
दूरसञ्चार ऐन, २०५३ ले गरेको व्यवस्थालाई अटेर र उल्लंघन गरी गरिएको उक्त क्रियाकलापहरुले दूरसञ्चार ऐन, २०५३ को परिच्छेद (१० सजाय र पुनरावेदनको दफा ४७ दण्ड सजायलाई चुनौती दिएको कुरा पनि सम्बन्धित निकायहरुलाई जानकारी गराएको छ ।